गौतम बुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहण गर्दै

चरिकोट । गौतम बुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवतीले सगरमाथा आरोहण गर्ने भएका छन् । बुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङलेले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका हुन् ।

केही देशमा अहिले पनि गौतमबुद्ध भारतमा जन्मिएको भन्ने भ्रम रहेकाले बुद्ध नेपालमा जन्मिएका हुन् भने सन्देश प्रबाह गर्न सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लागेको उनीहरुले बताए । आगामी चैत २५ गतेबाट पाएनियर एड्भेन्चर प्रालि कम्पनीको प्रायोजनमा ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको झण्डासँगै नेपालको झण्डा र धीरज राईले गाएको ‘बुद्ध वाज बर्न इन नेपाल’ बोलको गीत एक मिनेट सर्वोच्च शिखरबाटै बजाएर विश्वलाई सुनाउने योजना रहेको आरोहण दलकी सदस्य छोकी शेर्पाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा शेर्पाले वैदेशिक रोजगारीको शिलशिलामा चार वर्ष दक्षिण कोरिया बस्दा गौतमबुद्ध नेपालमा जन्मेको नभई भारतमा जन्मेको भन्ने भ्रम रहेकाले उक्त भ्रम चिर्न सगरमाथा आरोहण गर्न लागिएको बताउनुभयो । ‘दक्षिण कोरियाको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मेको भन्नेकुरा उल्लेख भएको छ । र त्यहाँका बालबालिकाले सोही कुरा पढिरहेका छन् ।’ उहाँले भन्नुभयो, दक्षिण कोरिया, भियतनाम र चीनका केही स्थानमा साथीहरूसँगको भेटमा पनि उनीहरूमा बुद्धको जन्मबारे भ्रम रहेको पाइएकाले वास्तविक जानकारी गराउन आफू सगरमाथा आरोहण गर्न लागेको हो ।’

आफु वैदेशिक रोजगारबाट फर्केको र विदेशमा गएर विभिन्न हिंसाबाट पिडित नेपाली दिदीबहिनीलाई आफ्नै देशमा फर्किएर देशकै पर्यटन विकास र रोजगारी सिर्जना गर्ने अभियानमा जुट्न प्रयास गर्ने चाहना रहेको छोकीले बताउनुभयो ।

आरोही शेर्पा र तामाङलाई भ्रमणका लागि केही सामग्री खरिद गर्न केही संस्थाले सहयोग गरेपनि आर्थिक अभाब भएकाले थप सहयोगका लागि विभिन्न संघ संस्थाका साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिलसमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार