आरोहीहरुको गाउँ फोर्चे

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खुम्जुङ गाविसको सिंगो फोर्चे गाउँ सगरमाथा आरोहीहरूको थलो हो । ९ नम्बर वडामा पर्ने जम्मा ८५ घरधुरीको यो गाउँमा सगरमाथा चुम्नेहरूको संख्या मात्रै ६७ छ । एउटै वडामा यति धेरै आरोही हुनु साँच्चै दुर्लभ हो । अर्थात् फोर्चेका घरैपिच्छे सगरमाथा चुमेका पैतलाका डाम छन् । “एउटै गाउँमा यति धेरै आरोही अन्यत्र कतै भेटिन्नन्”, खुम्जुङ गोक्योका पासाङ छिरिङ शेर्पा, जो शेर्पा अल्टिमेट माउन्टेनर्स पुस्तकका लेखकसमेत हुन्, भन्छन् ।

हिमालको काखमा चराको गुँडजस्तै बनेर बसेको यो सुन्दर बस्तीमा दर्जनौँ पटक सगरमाथा चुमेका हिमवीरहरूको थातथलो छ । “यहाँ सगरमाथा नचढ्ने घरै छैन भने पनि हुन्छ,”सगरमाथा आरोही ल्हाक्पा दोर्जी शेर्पा भन्छन् । पहिलो पटक चढेर फर्कंदा झन्डै दुर्घटनामा परेपछि उनले त्यसपछिचाहिँ आँट गरेनछन् ।

हुन त हिमाल आरोहण यो भेगका अन्य गाउँमा समेत जीवनको अभिन्न अंग नै हो । सगरमाथा आरोहणको याम वसन्त ऋतुमा यहाँ जवान लोग्ने मानिसहरू भेट्न मुश्किल पर्छ । उनीहरू सबै विदेशी आरोहीका पथप्रदर्शक बनेर मास्तिर उक्लिएका हुन्छन् । “सिजनभरिको कमाइले वर्षदिनभरि परिवार थाम्नुपर्ने हुन्छ,” ल्हाक्पा दोर्जी भन्छन् ।

यो यस्तो गाउँ हो, जहाँ एकै घरका चार जनासम्मले सगरमाथाको चचुरो चुमेका छन् । पुस्ताका हिसाबले बाबु र छोरा पुस्ता । यस्तै एउटा परिवार हो ल्हाक्पा सोनाम शेर्पाको । १८ वर्षको उमेरमै पहिलोपटक सगरमाथाको शिर छोएका उनको नाममा दुईपटक सगरमाथा चढेको रेकर्ड छ । अहिले त उनका तीन भाइ छोरा सोनाम दोर्जी, मिङमा दोर्जी र पासाङ सोनामले बाबुलेजस्तै सगरमाथा चुमिसकेका  छन् । जेठा सोनाम दोर्जी र कान्छा पासाङ सोनामले तीन बर्ष अघि नै यो आरोहण भ्याइसकेका हुन भने माइला मिङमाको नाममा दुईपटक शिखर चुमेको रेकर्ड छ । एक अर्को पुस्ता मात्रै हैन कि १६ वर्षकै उमेरमा सगरमाथा चढेकाहरु पनि भेटिन्छन्, यो गाउँमा । जस्तो: फूर्तेम्बा शेर्पा, इलानुरु र तेन्जिङ ग्याल्जेनले १६ वर्षमै चचुरो चुमेका  हुन् ।

यो गाउँमा सबैभन्दा बढी सगरमाथा पुग्ने आरोही हुन्, दोर्जे सोनाम ग्याल्जेन । उनले १५ पटक सगरमाथा चढिसकेका छन् । सन् १९७९ मा ल्हाक्पा ग्याल्जेनले फोर्चेबाट सगरमाथा चढ्ने पहिलो आरोहीको रूपमा आफ्नो नाम लेखाएका थिए । उनको गत बर्ष निधन भईसकेको छ ।

सगरमाथा आधारशिविर (बेस क्याम्प)  जाने बाटोमै पर्छ, फोर्चे गाउँ । आरोहीहरू बेसक्याम्पतिर जाने एउटा रुटसमेत हो, यो । त्यसबाहेक ‘थ्री पास’ (चो, खुम्बु र रेन्जो) पदयात्रा मार्गका तीनवटा पास चो पास यही रुटमा पर्छ । यही कारण हो, हिमाल आरोहणमा आउने विदेशीहरूसँग गाउँका साहसीहरूको सम्पर्क सहजै जोडिन्छ । “त्यसैले नै सगरमाथा आरोहणमा यो गाउँका मानिसहरूको संख्या बढी भएको हो,” पूर्व वडाअध्यक्ष एवं सगरमाथा आरोही आङछिरिङ भन्छन् ।

लेखक पासाङ छिरिङचाहिँ आफ्नो निचोड सुनाउँछन्,“याकमार्फत सामान ओसार्दाओसार्दै यहाँका शेर्पाहरू सगरमाथा आरोहणसँग नजिक भइसकेका हुन्छन् । यही कारण यो पूरा गाउँ नै आरोहणमा प्रख्यात भएको हो ।”

सन् २००४ मा फोर्चेमा हिमाल आरोहणका लागि तालिम दिन खुम्बु क्लाइम्बिङ सेन्टर खुल्यो । घर आँगनमै आरोहण तालिम खुलेपछि स्वभाविक रूपमा बढीजसो फोर्चेकै बासिन्दाले तालिम लिए । “तालिम केन्द्र खुलेपछि यो गाउँका धेरैले आरोहणको सिप सिके,” ११ पटक सगरमाथा चढिसकेका आरोही पानुरु शेर्पा भन्छन्, “त्यसपछि हाम्रो गाउँमा हिमाल चढ्ने लहर नै सुरु भयो ।”

यहाँका अधिकांश शेर्पाहरू आफूलाई हिमाल चढ्नै जन्मिएको ठान्छन् । सन् २०१३ मा सगरमाथा चढेका सोनाम दोर्जी आफूहरूको ध्यान नै पढाइमा भन्दा हिमाल कहिले चढ्ने भन्नेमा बढी जाने गरेको सुनाउँछन् । त्यही भएर आफूले ५ कक्षापछि पढाइ छोडेर हिमाल चढ्नतिर लागेको उनको भनाई छ । भन्छन्, “सानैदेखि हिमाल चढ्ने रहर थियो । बुवा र गाउँका ठूला मानिसहरू हिमाल चढेको भनेर फूर्तिसाथ फर्कन्थे । अनि म पनि पढाइ छोडेर त्यतैतिर लागेँ ।”

फोर्चेमा ५ कक्षासम्म पढाइ हुने प्राथमिक विद्यालय छ, जुन विस ०२५ मै खुलेको हो । त्यसभन्दा माथि पढ्नका लागि भने चार घन्टा हिँडेर खुम्जुङ पुग्नुपर्छ । पहिले–पहिले शिक्षाको सहज पहुँच नहुँदा अघिल्लो पुस्ताले थप शिक्षा पाउन सकेन । “अहिलेको पुस्ता पढे पनि आरोहणमै रुचि राख्छ, खुसी लाग्छ,” फोर्चेमा होटल व्यवसाय गर्ने फोर्चे गेस्ट हाउसकी सञ्चालिका पासाङ डिकी शेर्पा भन्छिन् ।

खासमा शेर्पाहरू विश्वभर हिमाल आरोही र त्यसको व्यावहारिक ज्ञान भएका विज्ञका रूपमा  चिनिन्छन् । शेर्पा हिमाल आरोहणमा विश्वविख्यात ब्रान्ड नै हो । र, खुम्बुभित्र छिरेपछिचाहिँ उप ब्रान्ड हो, फोर्चे गाउँ । यहाँका शेर्पाहरू विश्वभरबाट सगरमाथा चढ्न आएका विदेशीहरूलाई चुचुरोमा पुर्‍याउन अहोरात्र खटिएका हुन्छन् । यसरी आरोहण दलको सहयोगी बनेर गएका शेर्पाहरूलाई नेपाल पर्यटन बोर्डले उचाइ कामदारका रूपमा सगरमाथा आरोहण गरेको भनेर प्रमाणपत्र दिन्छ । फोर्चेमा यस्ता प्रमाणपत्रको संख्या वर्षेनि थपिरहेका हुन्छन् । “हामीलाई त वास्तै लाग्दैन । किनभने हाम्रो काम नै यही हो,” उत्तर दक्षिण दुबै मोहोडाबाट सगरमाथा आरोहण गरेका ल्हाक्पा सोनाम शेर्पा भन्छन् ।

हिमाल आरोहण जति साहसिक र रोमाञ्चक पेसा हो उति नै जोखिमपूर्ण पनि । अशिक्षाकै कारण विकल्प नभएर शेर्पाहरू आरोहणमा संलग्न भएका होइनन् भन्ने उदाहरण हुन् प्लस टु सकाएर सिजनमा आरोहणमा लागेका २० वर्षे ल्हाक्पा ग्याल्जेन शेर्पा । उनी ११ पटक सगरमाथा चढेका पानुरुका छोरा हुन् । उनी १९ असोजमा मात्रै तिब्बतका हिमालहरू चढेर बुवासँगै नेपाल फर्किएका छन । शिक्षित युवा पुस्ता समेत यो पेशातिर लागेको संकेत हो, यो । हुन त हिमाल आरोहणबाट नाम, दाम र अवसरको सम्भावनासमेत उत्तिकै छ । सम्भवत: यही भएर फोर्चे सगरमाथाको शिखर चुम्दै अवसरको उचाइ समेत उक्लिरहेको छ, आरोहीहरूको गाउँ बनेर । साभार नेपाल साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार