मुस्ताङमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि

मुस्ताङ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सन् २०१७ मा पर्यटक आगमन ३४.४९ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सोमसोम स्थित कार्यालयले जनाएको छ । यो बृद्धि सन् २०१६ तुलनामा बढेको हो ।
सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । कार्यालय प्रमुख तुलसी दाहालका अनुसार उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या चार हजारभन्दा बढी रहेको छ ।
शान्ति सुरक्षाको अवस्था राम्रो, राजनीतिक स्थिरता, यातायातको सहज पहुँच तथा प्रचारप्रसारका कारण भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटक वर्षेनी बढ्दै गएको प्रमुख दाहालले बताउनुभयो ।

भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, दक्षिण कोरिया, क्यानडा, न्यूजिल्याण्ड, इजरायललगायत देशका पर्यटक जिल्लाको भ्रमणमा आउने गरेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत पर्ने जिल्लामा प्राकृतिक सुन्दरता, पृथक भूबनोट, हिमाली जीवन शैली, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, माटोको शहरका रुपमा परिचित लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, मुक्तिनाथ, थोराङ्ला झञ्ज्याङ, मार्फा, ठिनी, कागबेनीलगायत थुप्रै पर्यटकीयस्थल रहेका छन् ।
मरुभूमि जस्तै भूगोलको पृष्ठभूमिमा देखिने हिमाल, साहसिक पदयात्रा, थकाली, गुरुङ, लोवा (विष्ट) जातिको जीवनशैली, गुम्बा र गुफाहरु यहाँको पर्यटकीय आकर्षण हुन् । पर्यटकको आवागमन बढेसँगै जिल्लाका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।


एक्यापले जिल्ला भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीमा तथ्याङ्क संकलन गर्दै आएको छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति दुइ सय र अन्य मुलुककाले प्रति पर्यटक दुई हजारका दरले शुल्क बुझाउनुपर्दछ ।
उपल्लो मुस्ताङ भ्रमण गर्नका लागि विदेशी पर्यटकले अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । बढीमा १० दिनका लागि प्रतिदिन पाँच सय डलर राजश्व बुझाएपछि विभागले भ्रमणका लागि अनुमति दिने गर्दछ । मुस्ताङलाई लोन्ली प्लानेटले सन् २०१७ मा विश्वका घुम्नै पर्ने १० स्थानमा सूचीकृत गरिएको थियो । म्याग्दी, पोखरा, काठमाडौं, भैरहवालगायत ठाउँबाट मुस्ताङका लागि यातायात सेवा सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार