देवघाटलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ ः राष्ट्रपति भण्डारी


तनहुँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आईतबार उद्घाटन गर्नुहँदैं राष्ट्रपति भण्डारीले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रुपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको सम्बद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउन आवश्यक रहेको बताउनुभयो । गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रुपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउँदै उहाँले सुखी र उन्नत समाज सिर्जना गरी आफ्नो मौलिक पहिचान कायम राख्न कटिबद्ध रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले देवघाट क्षेत्रलाई हिन्दू अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । गलेश्वर आश्रमले आफ्नो परिसरमा झण्डै रु नौ करोडको लगानीमा सो मन्दिर निर्माण गरेको हो । देवघाटधाम क्षेत्रको सबैभन्दा ठूलो मन्दिरका रुपमा यस मन्दिरलाई लिन सकिन्छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले गलेश्वर आश्रमका पूर्वकोषाध्यक्ष भोजराज भण्डारी, हालका सचिव प्रेमकुमार उलक, कार्यालय सचिव महेन्द्र प्याकुरेल र कार्यालय सहयोगी अर्जुन पन्तलाई सम्मान गर्नुभएको थियो ।
महायज्ञ फागुन २ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी आश्रमले नै पाँच सयजना अट्न सक्ने धर्मशाला निर्माण गरेको हो । धर्मशाला दुई करोड ५० लाख लागतमा निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार