पर्यटन व्यवसायीको समस्यालाई सम्बोधन गर्छुः प्रचण्ड


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्यटन क्षेत्रमा देखिएका पर्यटन व्यवसायीको समस्यालाई आफुले गम्भिर रुपमा लिएको बताउनुभएको छ । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)द्वारा आयोजित संयुक्त ल्होसार कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष प्रचण्डले आउने सरकारले र राज्यको तर्फबाट पर्यटन नीति नियममा आवश्यक सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो ‘पर्यटन व्यवसायीको समस्या र सुधारका विषयमा म गम्भिर छु ।’ अध्यक्ष प्रचण्डले पर्यटन व्यवसायमा नेपाल प्रचुर संभावनाको क्षेत्र भएको पनि उल्लेख गर्नुभयो ।


ल्होसार कार्यक्रमका अध्यक्ष तथा टानका अध्यक्ष नवराज दाहालले ल्होसारको शुभकामना व्यक्त गर्नुहुन्दैं पर्यटन व्यवसायमा भएका समस्याको सुधारमा राज्यको नीतिमा सुधार र कार्यान्वयमा प्रभावकारिता अत्यावश्यक रहेको बताउनुभयो ।


अध्यक्ष दाहालले पदमार्गमा जाने पर्यटकले एकजना नेपाल सरकारको अनुमति प्राप्त सहयोगी अनिवार्य लिएर जानुपर्ने बताउनुभयो । उहाँले पदयात्राबाट राज्यले जति आम्दानी गर्नुपर्ने हो त्यो हुन नसकेको  बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यलाई पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने भएकाले पर्यटन व्यवसायलाई व्यवस्थित बनाउन आबश्यक छ ।’ उहाँले पर्यटकबाट लिइने शुल्क महङ्गो भएको उल्लेख गर्दै मोटरबाटोले पदयात्राका लागि महत्वपूर्ण क्षेत्रहरुको पदयात्रा संकटमा पर्दै गएको बताउनुभयो ।


अध्यक्ष दाहालले खुम्बुपासाङल्हामु गाउँपालिकाले प्रति पर्यटक दुई हजार शुल्क लिंदैं आएको उल्लेख गर्दै यस्ता कार्यले समग्र पर्यटन क्षेत्र प्रभावित बनेको बताउनुभयो । पर्यटन क्षेत्रमा व्यवसायीहरु आजक बन्दै गएको र यसो हुनुमा राज्यको फितलो नीति नै कारण भएको पनि अध्यक्ष दाहालले बताउनुभयो ।


तामाङ, गुरुङ, शर्पा, ह्योल्मो र डोल्पो जातिले मनाउने ल्होसारलाई टानले संयुक्त ल्होसारको रुपमा आयोजना गरेको टान संयुक्त ल्होसारका संयोजक ऋतु ग्याम्दङले जानकारी दिनुभयो ।


टानको संयुक्त ल्होसारमा विभिन्न राजनीतिक दलका नेता, पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । राजधानीमा आयोजित टान ल्होसारका अवसरमा विभिन्न संघसंस्थाका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।


ल्होसारमा शेर्पा जाति लगायत अन्य जातजातिको संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति, राष्ट्रियस्तरका कलाकारको सांगितिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार