पर्यटन बोर्डका निरौलालाई सात र दासलाई छ वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार गरेको ठहर गर्दै पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले विहिबार निरौलालाई सात वर्ष कैद, ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई ५४ लाख ५९ हजार सात सय बिगो भराउने फैसला गरेको छ ।
त्यसैगरी लेखा शाखा प्रमुख दासलाई छ वर्ष कैद ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई २४ लाख ३७ हजार ४१५ बिगो भराउने र खनाललाई एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो भराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध वि.सं. २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार