धार्मिक पर्यटकीय स्थल बराहपोखरीमा डुंगा सञ्चालन

Juli Gurung

खोटाङको धार्मिक पर्यटकीय बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा रहेको करिब तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै मनोरञ्जनका लागि तीनवटा डुंगा सञ्चालनमा ल्याइएको हो ।
उचित संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि डुंगा सयर गर्ने व्यवस्था मिलाइएको बराहपोखरी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष देवीप्रसाद रेग्मीले बताउनुभयो । उहाँले सुन्दर बराहपोखरीमा अवलोकन र दर्शन गर्न आउने पर्यटक र दर्शनार्थीलाई थप मनोरञ्जन दिलाउन डुंगा पनि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
एकपटकमा चारजना अट्ने डुंगामध्ये हाल एकवटा मात्र सञ्चालनमा ल्याइएको छ । करिब ४ दशमलव ४६ हेक्टरमा फैलिएको बराहपोखरीलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न राँकुली खोलाबाट पानी ल्याएर बिहीबारदेखि डुंगा सञ्चालनमा ल्याइएको हो । मुहान र निकास हुने ठाउँ नदेखिए पनि बा¥है महिना टम्म पानी हुने पोखरीमा शंखेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थी एवं घुमफिरमा आउने पर्यटकको मनोरञ्जनका लागि डुंगा सञ्चालनमा छ ।
‘अर्धचन्द्राकार’को बराहपोखरीमा हरेक वर्षको रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तिका दिन ठूलो मेला लाग्ने गर्दछ । ‘मुहान नदेखिने तर कहिल्यै नसुक्ने’ बराहपोखरीको पानी सुरुङबाट निकास हुने गरेको स्थानीय बताउँछन् ।
सधैँ स्वच्छ पानीले भरिभराउ रहने निलो बराहपोखरी चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ ।
विकास, संरक्षण र संवद्र्धन गर्दै जिल्लाकै प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने सम्भावना बोकेको बराहपोखरीमा दुर्लभ रातो माछा पाईन्छ ।
सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको बराहपोखरीमा पुग्नका लागि धाप्लाङ–धर्तुङ–बराहापोखरी सडक सञ्चालनमा छन् । बराहपोखरीको पानीले स्नान गर्दा रोगब्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यताअनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीको भीड लाग्ने गर्दछ । निलो पोखरीको पश्चिम किनारामा शंखेश्वर महादेवको मन्दिर छ ।
बराहपोखरीमा छिमेकी जिल्ला उदयपुर, भोजपुर, सोलुखुम्बु, ओखलढुंगालगायत र तराईका विभिन्न जिल्लाबाट पनि दर्शनार्थी तथा पर्यटक आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार