पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

प्याराल्गाइडिङका लागि १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउन उदयपुर जिल्लाको बेलका नगरपालिकाले प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र स्थापनार्थ काम शुरु गरेको छ । बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा विद्यालय स्थापना कार्य शुरु गरिएको हो ।
बेलका नगरपालिकाले नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण विद्यालय भवनको निर्माण कार्य शुरु गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । उदयपुरको बेलकास्थित चौदण्डीको रानीटार मैनामैनीको उच्च भूभागबाट सप्तकोशी किनार क्षेत्रमा प्याराग्लाइडिङ उडान गरी पर्यटकीय विकास गर्न सकिने प्रमुख थापाले बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र तथा विद्यालय स्थापना गरिएको बेलका नगरपालिकाले जनाएको छ ।
विद्यलाय निर्माण कार्य एक वर्षमा पूरा हुने र २०७५ को जेठ महिनाबाट नै यस क्षेत्रमा प्याराग्लाइडिङ प्रशिक्षण सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । यसको सञ्चालनका लागि पोखरा र राष्ट्रिय खेलकुद परिषद्बाट प्रशिक्षकसमेत ल्याउन लागिएको नगरपालिकाका प्रतिनिधिले बताएका छन् । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकाले नगरपालिकाले बृहत् गुरुयोजना बनाएर प्याराग्लाइडिङ सञ्चालनका लागि अभियान शुरु गरेको नगरपालिकाका पदाधिकारीको भनाइ छ
भारतबाट ल्याउन लागिएको सानो पानीजहाज पहिलो पटक चौदण्डीको रानीटारदेखि सप्तकोशीको चतरासम्म र माङकुटारदेखि चतरा हुँदै तपेश्वरी क्षेत्रसम्म सञ्चालन गरिने लागेको पनि नगरप्रमुख थापाले बताउनुभयो । प्याराग्लाइडिङ सञ्चालनका लागि यसअघि नै दुई पटक परीक्षण उडान भइसकेको छ भने जहाज पनि एक पटक सञ्चालन गरेर परीक्षण गरिसकिएको बेलका नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार