विश्व पर्वतारोहण महासंघको बैठक राजधानीमा शुरु


विश्व पर्वतारोहण महासंघ ब्यवस्थापन समितिको बैठक काठमाडौमा शुरु भएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको महासंघको दुईदिने बैठकमा विश्वका १६ देशका ३० भन्दा बढी आरोहीहरुको सहभागिता रहेको छ । बैठकको उद्घाटन पर्यटन विभागका निर्देशक रामप्रसाद सापकोटाले गर्नुभएको थियो ।
बैठकलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघका अध्यक्ष फ्रिट्ज भ्रिज्लान्ड्टले महासंघ ब्यवस्थापन समितिको बैठक नेपालमा आयोजना गरिएकोमा खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्राकृतिक र पर्यकीय रुपमा धनी हिमालै हिमालको देशमा कार्यक्रम आयोजना गरीएकोमा खुशी लागेको छ ।’


नेपाल पर्वतारोहण संघ (एनएमए)को लामो प्रयासपछि नेपालमा उक्त बैठक आयोजना गर्न सफल भएको अध्यक्ष शन्तबीर लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘दुई वर्षदेखि हामीले नेपालमा यो बैठक आयोजनाको प्रयास गरीरहेका थियौं ।’ यो बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि अध्यक्ष लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको बारेमा दशौ लाख ब्यक्तिसम्म सन्देश पुर्याउने भएकाले पनि बैठक उपलब्धिमूलक हुनेछ ।’


बैठकमा नेपालका थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन आवश्यक कागजात महासंघलाई बुझाउने तयारी गरीरहेको एनएमएका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । नेपालमा रहेका आठहजार मीटरभन्दा अग्ला १४ हिमालमध्ये आठवटाले मात्र अन्तराष्ट्रिय रुपमा मान्यता पाएको छ ।

नेपाल सरकारले आठहजार मीटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमा रहेको भनी राजपत्रमा प्रकाशित गरेपनि अन्तराष्ट्रिय रुपमा ६ वटाले मान्यता पाएको छैन । उक्त ६ वटा हिमालको उचाई अन्तर्राष्ट्रिय स्तरबाट प्रमाणित गराउन एनएमए प्रयासरत रहेको पनि महासचिव गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय स्तरमा हिमालको उचाई प्रमाणित गर्न पहल गर्ने एकमात्र संस्था एनएमए हो, जुन कुरा सरकार एक्लैले चाहेर संभव छैन ।’


विश्व पर्वतारोहण महासंघ विश्वका चर्चित आरोहीहरुको संघ हो । त्यसैले आरोहीहरुको यो बैठकबाट महासंघले पर्वतारोहण क्षेत्रका हिमाल सरसफाई, गाईडको सुरक्षा तथा दक्षता अभिबृद्धि लगायतका थप एजेण्डाहरु लिएर जाने र पछि अनुमोदन गरिने महासचिव गुरुङले जानकारी दिनुभयो ।

 

नेपालको पर्यटनसंग सम्बन्धित संघसंस्था चिनाउन, नेपालबारे प्रचारप्रसार गर्न, एनएमएलाई चिनाउन पाउने जस्ता कुराहरुमा बैठक सार्थक बनेको पनि महासचिव गुरुङले बताउनुभयो । बैठक शनिबार सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार