खुम्बुमा सर्वाधिक राशीको भलिबल आयोजना गरेर सगरमाथा दिवस मनाईदै ।

सगरमाथा दिवस मे २९ को अबसरमा सोलुखुम्बुको नाम्चेमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता आयोजना गरिएको छ । “सगरमाथाको फेदी अनुपम छ ठाउ, आन्तरीक पर्यटनका लागि नाम्चे घुम्न जाउ ।”  भन्ने नारा सहित नाम्चे युवा समुहद्धारा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख १ सय का साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्धितिय र तृतिय हुने टिमले क्रमश नगद ३ लाख १ सय र १ लाख १ सय का साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीका लागी नगद ५० हजार १ सय का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

खेलमा सहभागी हुन १० हजार दर्ता शुल्क निर्धारण गरिएको छ भने १२ खेलाडी सहित व्यबस्थापक प्रशिक्षक र सहायक प्रशिक्षक गरी १६ जना सहभागी हुन पाउने व्यबस्था गरिएको पनि संयोजक शेर्पाले बताउनुभयो ।

खेलमा सहभागी बन्न जिल्ला खेलकुद विकास समितीको कार्यालय सल्लेरी, काठमाण्डौंको बुढानिलकण्ठ, नाम्चे युवा समुह र जिल्लाका दुई रेडियो स्टेशन सोलु एफ.एम र हिमाल एफ.एमबाट फारम खरिद गर्न सकिने बताईएको छ । स्थानिय खेलाडीहरुलाई विशेष जोड दिईएको भएपनि एक टिममा दुई जना राष्ट्रिय खेलाडीहरु मात्र सहभागी गराउने पाउने र  जर्सी अनिर्वाय गरिएको छ । समुहका अनुसार खेल नेपाल भलिबल सघंका अनुभवी निर्णायकहरुबाट खेलाईने छ ।

सगरमाथा क्षेत्रको प्रचारप्रसार र आन्तरीक पर्यटक माझ रहदै आएको गलत सन्देशलाई समेत मेटाउन कार्यक्रम फलदायी हुने विश्वास आयोजकले लिएको छ । यो प्रतियोगिता नेपालकै सर्वाधिक राशीको भएको आयोजकको दावी छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला राखेको दिनको अबसरमा हरेक बर्ष विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाउने गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार