सगरमाथा आरोहण सम्बन्धी ज्ञान

पासाङ तेन्जिङ शेर्पा 
सगरमाथा आरोही 

सगरमाथा चढ्ने तयारी, तरिका र जोखिमहरूबारे आफ्ना अनुभव सुनाउँदै छु –
सगरमाथा चढ्न चाहनेहरूले पहिले ससाना हिमाल आरोहणको अभ्यास गर्छन् । सबैजसो सगरमाथा आरोहीले सगरमाथाभन्दा साना वा आफ्ना मुलुकका सबैभन्दा अग्ला चुचुरा चढेका हुन्छन् । नेपालमा हिमाल आरोहण वर्षमा ४ सिजन खुल्छ । वसन्त, ग्रीष्म, शरद र शिशिर ऋतुहरूमा । प्राय: वसन्तको याममा ठिक्कको मौसम हुने भएकाले यतिबेला हिमाल चढ्न चाहनेहरू धेरै हुन्छन् । यो सिजनमा सगरमाथा चढ्न चाहने विदेशीले सरकारलाई एक जनाको ११ हजार अमेरिकी डलर (११ लाख ३३ हजार रुपैयाँ) तिर्नुपर्छ । शरदकालीन याममा ५ हजार ५ सय डलर तिर्नुपर्छ । ग्रीष्म र शिशिर याममा चाहिँ २ हजार ४ सय ५० डलर तिरे पुग्छ । यसरी हिमाल आरोहणको अनुमति लिन तिर्नुपर्ने रकमलाई सलामी दस्तुर भनिन्छ । यस्तो दस्तुर नेपालीका लागि भने कम छ । वसन्तकालीन याममा ७५ हजार रुपैयाँ छ भने ग्रीष्म र शिशिर याममा १८ हजार २ सय ५० मात्रै पर्छ । आरोहीका सामान बोक्ने नेपाली सहयोगी, भरिया र गाइडले दस्तुर तिर्नुपर्दैन ।

सगरमाथा आरोहण गर्न जाने सबैले जीवन बिमा भने गरेकै हुनुपर्छ । एकपटक सगरमाथा आरोहण गर्न विदेशीले ३५ देखि ७० लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ । सगरमाथा आरोहण गर्न जानुअघि आरोहणको अनुमति लिनुपर्छ । त्यस्तो अनुमति काठमाडौंस्थित पर्यटन विभागले दिन्छ । आरोहण अनुमति ७५ दिनको हुन्छ । सगरमाथा आरोहण गर्न एक्लै जान पाइँदैन । समूहमा मात्रै जानुपर्ने नियम छ । त्यसलाई आरोहण दल भनिन्छ । अनुमतिपत्रमा पर्वतारोहण दल र नेताको नाम, हिमालको नाम, चढ्ने बाटोबारे लेखिएको हुन्छ ।
अहिलेसम्म सगरमाथामा चढ्ने दुई बाटाहरू मात्रै छन् । एउटा बाटो चीनको तिब्बततर्फबाट छ भने अर्को नेपालको सोलुखुम्बु जिल्लाबाट । तिब्बती बाटो असाध्यै गाह्रो छ । यो बाटोमा उद्धार गर्न अत्याधिक कठिन हुन्छ । त्यसैले आरोहीहरू नेपाली बाटो सजिलो मान्छन् । यही कारणले गर्दा हरेक वर्ष सगरमाथा आरोहणमा तिब्बततर्फको तुलनामा नेपालतर्फबाट जानेहरू धेरै हुन्छन् । सोलुखुम्बुबाट सगरमाथा जान पहिले लुक्ला पुग्नुपर्छ । त्यसैले लुक्लालाई विदेशीहरू सगरमाथाको प्रवेशद्वार (गेट–वे अफ एभरेस्ट) पनि भन्छन् । काठमाडौंबाट हवाई जहाजमा लुक्ला जान सकिन्छ । त्यहाँबाट पैदल हिँड्नुपर्छ ।

आरोहीका लागि गियर (हिमाल आरोहणका लागि चाहिने सामग्री) हयान्ड/हेड/आई वेयर उपकरण, स्लिपिङ ब्याग, टेन्ट, ल्याम्प, स्टोभ, खानेकुरा, औषधि, ट्वाइलेटरी, फस्ट एड, अक्सिजन सिलिन्डर, सबै जहाजबाट लुक्ला पुर्‍याएपछि त्यहाँबाट भरिया र चौंरीमार्फत बोकाएर सगरमाथाको आधार शिविरसम्म पुर्‍याउनुपर्छ । आधार शिविरको उचाइ समुद्री सतहदेखिको ५ हजार ३ सय ८० मिटर हो । यो काठमाडौंभन्दा करिब ४ हजार मिटर माथि पर्छ । लुक्लादेखि आधार शिविरसम्म पुग्न आरोहीहरूलाई कम्तीमा ९ दिन लाग्छ । उचाइ हिँड्नुपर्ने भएकाले अक्सिनको चाप घट्दो हुन्छ । जति उचाइमा गयो त्यति नै अक्सिनको तह पातलो हुने भएकाले सास फेर्न कठिनाइ हुन्छ । त्यसैले विदेशीहरू बिस्तारै बिस्तारै हिँड्दै आधार शिविरसम्म पुग्छन् । लुक्लादेखि हिँडेपछि फाक्दिङ, नाम्चेबजार, दिबुचे, तेङबोचे, दिङबोचे, लोबुचे, गोरक्सेफ हुँदै बेस क्याम्प (आधार शिविर) पुगिन्छ ।

कतिपय आरोही सगरमाथा चढ्नुअघि अभ्यासका लागि आधार शिविर मुन्तिरका स–साना हिमाल चढ्छन् । यो सर्वोच्च शिखर चढ्ने तयारी हो । आधार शिविरभन्दा माथि होटल र बस्ती छैनन् । त्यहाँमाथि टेन्टमा सुत्नुपर्छ । पिउने पानीका लागि हिउँ तताउनुपर्छ । मोबाइल, क्यामेरा, वाकीट्वाकी, टर्च, ल्याबपट आदिको ब्याट्री चार्ज गर्न प्राय:ले स–साना सोलार प्लेट लैजान्छन् । केही कम्पनीहरूले विदेशीहरूको चापअनुसार अहिले जेनेरेटर पनि बोकाएर आधार शिविरसम्म लैजाने गरेका छन् । आधार शिविरदेखि सगरमाथाको चुचुरो देखिन्छ । तर त्यहाँ पुग्न सजिलो छैन । एकै दिनमा पुग्न सकिँदैन । त्यसमाथि चार ठाउँमा हिउँमै क्याम्प बनाउनुपर्छ । पहिलो क्याम्प ६ हजार मिटर, दोस्रो ६ हजार ४ सय, तेस्रो ७ हजार २ सयदेखि ७ हजार ४ सय मिटरमा र चौथो क्याम्प ७ हजार ९ सय ५० मिटरमा रहन्छ ।

आधार शिविरमाथि बाटो हुँदैन । हरेक वर्षको सिजनमा बाटो बनाउन सिपालु भएका आइसफल डक्टरले दोस्रो आधार शिविरसम्म बाटो बनाइदिन्छन् । त्यहाँभन्दा माथि डोरी वा आल्मुनियमका भर्‍याङ प्रयोग गरिएको हुन्छ । ग्लेसियर (हिमनदी), हिउँ खाडलमाथि हाई अल्टिच्युट बुट लगाएर हिँड्नुपर्ने भएकाले प्राय:ले आफूले लगाएको ड्रेसलाई डोरीसँग हुक गरेका हुन्छन् । हुक गर्नका लागि क्याराबिनेर, हार्नेस, आइस एक्स, क्र्यामपोन आदि गियर चाहिन्छन् । अहिले क्याम्प–२ सम्म नेपाल टेलिकमको मोबाइलको सिग्नल भेटिन्छ । यसबाहेक धेरैले सेलेलाइट फोन पनि भाडामा लिन्छन् । एउटा क्याम्पदेखि अर्को क्याम्पसम्म कुरा गर्न वा अगाडि/पछाडिको साथीसँग गफ गर्न वाकीट्वाकी हुन्छ ।


आधार शिविरबाट सगरमाथाको चुचुरोमा पुग्न कम्तीमा १५ दिन लाग्छ । सबैभन्दा गाह्रो चौथो क्याम्पदेखि माथि बाल्कोनी र हिलारी स्टेप भन्ने ठाउँमा हो । चौथो क्याम्पदेखि चुचुरोमा चढ्न सबैभन्दा उपयुक्त बेलुकीको ९ बजेदेखि बिहान ११ बजेसम्म हो । ११ बजेपछि चुचुरोमा टेकेर फर्किसक्नुपर्छ । त्यसपछि त्यहाँ अत्यधिक हावा चल्ने र हिमपहिरो जाने भएकाले चुचुरोबाट छिट्टै तल ओर्लिहाल्नुपर्छ । चौथो क्याम्पदेखि तेस्रो क्याम्प हुँदै कतिपय दोस्रो क्याम्प वा केही आधार शिविरबाट सोझै हेलिकोप्टर मगाएर काठमाडौं फर्किन्छन् । यसो गर्नको कारण हिँड्न कठिनाइ हुनु र जोखिम पनि हो ।

आधार शिविरमाथि चुचुरोसम्मको तापक्रम माइनस ४० डिग्रीसम्म हुन्छ । दिउँसो सेतो हिउँमा घाम लागेपछि नांगो आँखाले हेर्न ज्यादै कठिन पर्छ । दोस्रो क्याम्पभन्दा माथि प्राय: खाना पकाउन सकिँदैन । तयारी खाना बोकेर हिँड्नुपर्छ । पिठयुँको झोलामा अक्सिन सिलिन्डर, खानेकुरा र अत्यावश्यक सामान मात्रै बोक्नुपर्छ । सगरमाथा आरोहण सकेर काठमाडौं फर्केपछि चुचुरोमा पुगेको फोटो पर्यटन विभागलाई बुझाउनुपर्छ । अनि मात्रै नेपाल सरकारले सगरमाथा आरोहण गरेको आधिकारिक प्रमाणपत्र दिन्छ ।  साभार : कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार