आरोहीको स्वास्थ्य सेवाका लागि चिकित्सक खटाइयो

वसन्त ऋतु शुरु भएसंगै आरोहणमा जाने आरोहीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी चिकित्सक खटाइएको छ । तीन हजार मीटर उचाइभन्दा माथी लागेपछि आरोहीहरुलाई लेक लाग्ने, विरामी हुने भएकाले प्राथमिक उपचारका लागि नौजना चिकित्सक खाइएको हिमालय उद्धार संघले जनाएको छ ।
संघले वसन्त ऋतुमा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर दुई नेपाली र सात विदेशी चिकित्सक खटाएको हो । जसमध्ये सगरमाथा आधार शिविरमा तीन, सोलुखुम्बुकै फेरिचेमा तीन र मनाङको मनाङगाँउमा तीन चिकित्सक खटाएको छ ।
स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सकहरु पठाएको संघका कार्यकारी निर्देशक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यो सिजनमा अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । जसमा सगरमाथा आरोहणका लागि मात्रै २३ समूहले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभागले आरोहणका लागि हालसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । साँढे ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार