पर्यटन प्रवद्र्धन सातै प्रदेशमा गरिनेः मन्त्री अधिकारी


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
पश्चिमाञ्चल होटल संघद्वारा पोखरामा आयोजित १५ औं फेवा नव वर्ष महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि प्रदेश, स्थानीय तह र निजी क्षेत्रको भूमिका अपरिहार्य रहने बताउनुभएको हो । इमान्दार भएर पर्यटन व्यवसायीले राज्यलाई राजश्व तिर्नुपर्ने र अन्य जिम्मेवारी सरकारले लिने पनि मन्त्री अधिकारीले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘संख्यात्मक भन्दा गुणस्तरीय पर्यटक भित्त्र्याउनु आजको आवश्यकता रहेको छ ।’
भैरहवा, निजगढ, नेपालगञ्ज, जनकपुरलगायतका विमानस्थलहरूको धावनमार्ग बढाएर भारतका विभिन्न शहरसँग सोझै हवाई सम्पर्क कायम गर्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवको अवसरमा प्रदेश नम्बर ४ को पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रादेशिक सरकारले निकट भविष्यमा ल्याउने नीति, कार्यक्रम तथा बजेटमा पर्यटन विकासलाई जोड दिइने बताउनुभयो ।
बुधबार देखि शुरु भएको महोत्सव बैशाख दुई गतेसम्म चल्नेछ । महोत्सवमा ३० वटा स्टल राखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार