तीन भारतीय पूर्वराजदूत डोल्पा पदयात्रामा


तीन भारतीय राजदूत डोल्पा पदयात्रामा आएका छन् । प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि पूर्वराजदूत डोल्पामा आएका हुन् ।
नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा छन् । डोल्पाको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन लोभ्याएपछि आफूहरु डोल्पाको सौन्दर्यतासँग रमाउन १५ दिने पदयात्रामा आएको पूर्वराजदूतहरुले बताएका छन् ।


प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न आएको पूर्वराजदूत रायले बताउनुभयो । धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोटमा रहेको श्रीवालात्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पुगेका राजदूतहरुले प्रचार प्रसारको अभावमा डोल्पा ओझेलमा परेको बताए ।


डोल्पा शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी, जगदुल्ला ताल, धो ताक्सी उपत्यका, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यार्सागुम्बा लगायतका कारण चर्चित छ । पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालसँग डोल्पालाई जोड्न आवश्यक रहेको पूर्वभारतीय राजदुुतहरुले बताए । भारतीय राजदूतावासको तीन करोड ३३ लाख सहयोगमा त्रिपूरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ । तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार