नयाँ वर्षमा सौराहा आन्तरिक पर्यटकले भरिभराउ


नेपालीहरुले मनाउने नयाँ वर्षमा चितवनको पर्यटकीय स्थल सौराहा पर्यटकले भरीभराउ भएका छन् । नयाँ वर्ष भन्ने वित्तिकै अंग्रेजी नयाँ वर्षलाई लिने पर्यटकीय क्षेत्रमा पछिल्ल्लो समयमा विक्रम संम्बतको नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले सौराहा भरीभराउ भएको हो ।


पहिले अंग्रेजी नयाँ वर्षमा अन्तरिक र बाह्य पर्यटकले यहाँका होटल तथा रिसोर्ट भरिभराउ हुन्थे । पर्यटन व्यवसायीलाई पनि पर्यटक भनेपछि विदेशीमात्रै लाग्ने गथ्र्याे । अहिले अवस्था त्यस्तो छैन । पछिल्ला वर्षहरुमा विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउनेहरु आन्तरिक र बाह्य दुवै हुने गरेका छन् ।
विसंको पहिलो दिन वैशाख १ गते नयाँ वर्ष मनाउन आउनेहरुको संख्या वर्षेनी बृद्धि हुँदै गएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ʽतीन वर्षयता नयाँ वर्ष मनाउन यहाँ आउने संख्या वर्षेनी बढ्दै गएको छ ।ʼ घिमिरेका अनुसार पछिल्ला वर्षहरुमा नेपाली नयाँ वर्षमा आन्तरिक र बाह्य पर्यटकले होटल भरिभराउ हुने गरेका छन् ।
गतवर्ष नेपाली नयाँ वर्षमा ८० प्रतिशत सौराहाका होटल बुकिङ भएका थिए । यसवर्ष ९० प्रतिशतको हाराहारीमा होटल बुकिङ भइसकेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार ६० देखि ७० प्रतिशत आन्तरिक तथा बाँकी बाह्य पर्यटक सौराहामा छन् ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले सौराहाका होटल रेष्टुरेण्टहरु पर्यटकले भरिएको बताउनुभयो । उहाँका अनुसार बिहीबारदेखि नै पर्यटकको चहलपहल बढेको हो । त्यसो त विदेशीले भन्दा नेपाली पर्यटकले बढी खर्च गर्ने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “नेपालीको गोजीमा एक हजार भयो भने ९०० खर्च गर्छन् विदेशले एक हजार भयो भने ३०० सम्म मात्रै खर्च गर्छन् ।”
आम्दानीको हिसाबले स्वदेशी पर्यटक फाइदाजनक हुने उहाँले बताउनुभयो । यस वर्ष नयाँ वर्षको अघिल्लो दिन शुक्रबार तथा नयाँ वर्षको दिन शनिबार परेकाले पनि नयाँ वर्ष मनाउन आउनेको संख्या बढी भएको उहाँले बताउनुभयो ।
रेवानले नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नयाँ वर्षको अवसरमा सौराहाकै केही होटलले पनि सांस्कृतिक कार्यक्रम राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार