पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा गरिने

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि ईलामसम्मको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ । ‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा पदयात्रा हुने भएको हो । ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो ।
बैशाख ७ गते काँकरभिट्टाबाट शुरु हुने तीन दिने पदयात्राको पहिलो दिन सकलपुरमा बास बसेर दोस्रो दिन श्रीअन्तु पुग्ने तथा तेस्रो दिन बिहान सूर्योदयको दृश्यावलोकन गरी समाप्त हुनेछ । पदयात्रामा नेपाल, भारत, बंगलादेश र भुटानका ७० जना पर्यटनविज्ञ तथा पत्रकार सहभागी हुने पदयात्रा कार्यक्रमका सञ्चार संयोजक सन्तोष सुवेदीले जानकारी दिनुभयो । पदयात्रा बाहुनडाँगी बजार–मिनिमाउण्टेन–कृष्णथुम्की हुँदै सकलपुर, सिद्धिखोला र मेची खोलाको दोभानमा सामूहिक स्नान गरी सुङतुङ हुँदै श्रीअन्तु पुगेर समाप्त हुनेछ ।
जैविक विविधता र मेची करिडोरको अध्ययन गर्न पदयात्रा गर्न लागिएको ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो । “पदमार्गको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यदयात्रा गर्न लागेका हौं,” उहाँले भन्नुभयो, “पर्यटनको माध्यमबाट यहाँको आर्थिकस्तरमा सघाउ पुग्ने आशा छ ।”
पदयात्रा सम्पन्न गर्न अनुमानित आठ लाख खर्च हुने संस्थाका महासचिव पुष्कर ढकालले बताउनुभयो । पदयात्रा आयोजनाका लागि झापाको मेचीनगर नगरपालिका, ईलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, शुभ चिया सहकारी संस्था, मिनि माउण्टेन पर्यटन विकास समितिलगायत संघ संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार