यातायात व्यावसायी आन्दोलनमा, अनिश्चितकालीन यातायात बन्दको चेतावनी ।

सिन्डिकेट खारेज गर्ने निर्णयको विरोध गर्दै यातायात व्यावसायी आन्दोलित भएका छन्। व्यावसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकारले आफूहरुसँग छलफलसमेत नगरी एकलौटी ढंगले यातायात संघ, संस्थाहरुको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

यातायात व्यवसायीहरुले सरकारले आफ्नो निर्णय फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन ।

आगामी बैशाख २१ गतेबाट अनिश्चितकालीन यातायात बन्द गर्ने लगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारको निर्णय कसैको पनि हितमा नरहेको भन्दै यातायात व्यवसायीहरुले बुधबारबाटै सुरु हुनेगरी पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन।

घोषित कार्यक्रम अनुसार बिहीबार संयुक्त आन्दोलनको तयारी गर्ने, ७ गते निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्री, विभागीय मन्त्री, प्रदेश मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने रहेको छ। त्यसैगरी बैशाख १६ गते सबै यातायात कार्यालय घेराउ गर्ने र २१ गतेबाट सम्पूर्ण यातायात सेवा बन्द गर्न बाध्य हुने यातायात व्यवसायीहरुको चेतावनी छ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले मध्यमस्तरका पूजी भएका व्यवसायीमाथि अन्याय गरेकाले त्यसको विरोधमा आन्दोलनमा जान बाध्य भएको बताए। सरकारले ५ वटा गाडी भएकाहरुलाई पनि कम्पनीमा गएर दर्ता गर्ने भनेर सानो पूजीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको यातायात व्यवसायीको आरोप छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार