एसियन पुरुष भलिबल च्याम्पियनसिपको चौथो संस्करणका लागि नेपाली टोली आज बंगलादेश जादै ।

एभिसी सेन्ट्रल जोन सिनियर एसियन पुरुष भलिबल च्याम्पियनसिपको चौथो संस्करणमा सहभागिताका लागि आज नेपाली टोली बंगलादेश जादैंछ। नेपाली टोलीले प्रतियोगिताका लागि दुई महिनादेखि प्रशिक्षण थालेको थियो । टोलीको तयारी तथा खेलाडीहरुको प्रदर्शनबाट प्रशिक्षक बलराम क्षेत्री सन्तुष्ट छन्। ‘हाम्रो तयारी एकदम राम्रो छ। हाम्रो लक्ष्य स्वर्ण जित्ने हो,’ उनले भने, ‘जित्छौ भन्ने विश्वास पनि राख्नुपर्छ। यसअघि कास्य पदक जितेको हामीले स्वर्णका लागि नै तयारी गरेका हौं। खेलाडीहरुको प्रदर्शन पनि राम्रो देखिएको छ।’

कप्तान इम बहादुर रानामगरले प्रतियोगिताका लागि यसअघिको संस्करण भन्दा अहिले राम्रो तयारी भएको बताए। ‘यसअघि हामीले म्याट विछ्याएर पनि तयारी गर्न पाएका थिएनौ,’ उनले भने, ‘यसपटक हामीले राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दुई महिना म्याट नै विछ्याएर विशेष प्रशिक्षण गरेका छौं। अात्मवलपनि उच्च भएकाले फाइनलमा पुग्नेमा विश्वस्त छौं।’

च्याम्पियनसिप वैशाख ८ देखि १६ गतेसम्म बंगलादेशको ढाकामा हुँदैछ। च्याम्पियनसिपमा नेपालसँगै माल्दिभ्स, भुटान, अफगानिस्तान, बंगलादेश, किर्गिस्तान, तुर्केमनिस्तान, काजकिस्तान र ताजिकिस्तान गरी नौ राष्ट्रको सहभागिता रहनेछ।

अघिल्ला संस्करणमा नेपालले बंगलादेश, माल्दिभ्स र अफगानिस्तानलाई हराएको थियो भने लगातारको च्याम्पियन किर्गिस्तानसँग पाँच सेटसम्म खेलेको थियो। उक्त परिणामले पनि नेपाललाई यसपटक स्वर्णको लक्ष्य राख्न हौस्याएको हो।

उपाधि जिते २ लाखः सदस्यसचिव

नेपाली टिमको विदार्इ समारोहमा राखेप सदस्यसचिव विष्टले प्रतियोगिताको उपाधि जितेमा परिषदको तर्फबाट टोलीका सदस्यलार्इ जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। सदस्य सचिव विष्टले उपविजेता भएको खण्डमा पनि जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बताए।

राष्ट्रिय खेल भएका नाताले राष्ट्रिय खेलकुद परिषदले भलिबललाई विशेष प्राथमिकतामा राखेको सदस्य सचिव विष्टले बताए। उनले ३१ वर्षपछि एशियाली खेलकुदमा पहिलो पटक भलिबललाई समावेश गरिएको भन्दै महिला टिमको सहभागिताका लागि पनि प्रयास भइरहेको बताए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार