प्रदेश नम्बर १ का १० जिल्लाबाट ५ सय ६० मेगावाट विद्युत उत्पादन हुदै, सोलुखुम्बुबाट मात्रै करिव ३ सय मेगावाट विद्युत उत्पादन हुने ।

प्रदेश नम्बर १ अन्तरगत हिमाली जिल्ला सोलुखुम्बुमा निर्माणाधिन ७ बटा विद्युत आयोजनाबाट ३ सय ५ मेगावाट विद्युत उत्पादन हुने भएको छ । सोलु खोला दूधकोशी जलविद्युत ८६ मेगावाट, नुम्बर हिमालय हाइड्रोपावर प्रालिले लिखु खोला ए जलविद्युत २४.२ मेगावाट, माथिल्लो सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सोलुखोलाबाट २३.५ मेगावाट तल्लो सोलुखोलाबाट ८२ मेगावाट विद्युत उत्पादनको काम भईरहेको अधिकारीहरुले बताएका छन् ।

हिमालय इनर्जी प्रालिले रामेछापसँग सीमा जोडिएको लिखु खोला प्रथम जलविद्युतबाट ५१.४ मेगावाट, ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेडले लिखु खोला दोस्रो जलविद्युतवाट ३३.४ मेगावाट र दोभान हाइड्रोपावर कम्पनीले सोलुखुम्बुको जुनबेशी खोलाबाट ५.२ मेगावाट गरी सोलुखुम्बुबाट मात्र ३ सय ५ मेगावाट विद्युत उत्पादन हुने विद्युत प्राधिकरण क्षेत्रिय निर्देशनालयका प्रमुख दिनेशराज सुवेदीले बताए ।

यस्तै प्रदेश नम्बर १ का १० जिल्लाबाट करिब ५ सय ६० मेगावाट उत्पादन गर्ने गरी काम भइरहेको छ । पाँचथरमा ५ वटा आयोजनाबाट १ सय मेगावाट, इलाममा १० वटा आयोजनाबाट ८० मेगावाट, संखुवासभाबाट ७ वटा आयोजनाबाट ४५ मेगावाट, ताप्लेजुङमा १४ मेगावाट, खोटाङमा ७ मेगावाट, ओखलढुंगामा ७ मेगावाट, तेह्रथुममा ४ मेगावाट, भोजपुरमा २ मेगावाट र मोरङमा १ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणाधीन छन् । यी जिल्लामा जम्मा ३७ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको लगानीमा सञ्चालित ५ सय ६० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको पाइएको छ ।

आयोजनाबाट ५ लाख ६० हजार किलोवाट अर्थात ५ सय ६० मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । विद्युत विकास विभागले मुलुकभर १ सय ६८ आयोजनासँग विद्युत् खरिदबिक्री सम्झौता गरी निर्माण अनुमति दिएकोमा प्रदेश नम्बर १ मा ३७ वटा आयोजना सञ्चालनका लागि स्वीकृत भएका थिए ।

उत्पादन भएका तथा उत्पादन हुन बाँकी रहेका निर्माणाधीन जल विद्युत् आयोजनाहरूको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार