उद्घाटन खेलमा भारतलाई चार स्वर्ण ।

आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन भारतले चार स्वर्ण पदक जितेको छ। नेपाल जुडो संघको आयोजनामा शनिबारबाट काठमाडौंमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा भारतलार्इ २ स्वर्ण सहित पाकिस्तान र १ स्वर्णसहित नेपालले पछ्याइरहेको छ।  नेपाललार्इ रविन श्रेष्ठले पहिलो दिनमा स्वर्ण दिलाएका हुन् । उनले  १०० केजी मुनिका तीनवटै खेलाडीलार्इ पराजित गर्दै स्वर्ण हात पारे। उनले सुर्यमान लामा, श्रीलंकाका बन्दुला बजाला र बंगलादेशका मोहम्मद अब्दुल कलाम आजादलार्इ पराजित गर्दै स्वर्ण जितेका हुन्।

स्वर्ण पदककी आशा गरिएकी ओलम्पियन तथा सन् २०१६ को दक्षिण एसियाली खेलमा स्वर्ण पदक हात पारेकी फुपुल्हामु खत्री रजतमै रोकिइन् । ६३ केजी तौल मुनि प्रतिस्पर्धा गरेकी उनलार्इ भारतकी सुनिबाला देवी हुइड्रोमले फाइनलमा पराजित गर्दै स्वर्ण हात पारेकी थिइन्। महिला ५७ केजीमुनि तौल समूहको स्पर्धामा भारतकी अनिता एन्गोन चानुले नेपालकी लिला अधिकारीलार्इ पराजित गर्दै स्वर्ण हात पारिन् ।  यस्तै, ५२ केजी मुनि महिला तर्फको स्पर्धामा भारतकी कल्पना देवीले स्वर्ण जितिन्। उनले पाकिस्तानकी मार्यामलार्इ पराजित गरेकी थिइन्।

शाह हुसेन शाहले श्रील‌ंकाका रन्थनायकेलार्इ पराजित गर्दै पुरुष १०० केजी माथिको स्पर्धामा स्वर्ण जिते। पाकिस्तानलार्इ दोस्रो स्वर्ण पुरुष ९० केजी मुनिको तौल समूहबाट कुइसर खानले दिलाए। उनले फाइनलमा नेपालका श्रीराम मकाजुलार्इ पराजित गरेका थिए।

भारतलार्इ अर्को स्वर्ण महिला ४८ केजी मुनिको तौलसमूहमा सुशिला देवी लिकमाबमले दिलाइन्। उनले पाकिस्तानकी हुमारिया आशिकलार्इ पराजित गर्दै स्वर्ण हात पारेकी हुन्।

च्याम्पियनसिपको दोस्रो दिन आज पुन: ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका २ तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १–१ गरि ७ समूहको सहभागिता रहको छ। तीनदिने प्रतियोगितामा नेपालबाट १८ महिला र १८ पुरुष खेलाडीले भाग लिँदै छन्।

महिलातर्फ ७ र पुरुषतर्फ ७ तौल समूहमा प्रतिस्पर्धा हुदैछ। नेपालबाहेक प्रतियोगितामा भारतबाट १४, पाकिस्तानबाट १७, श्रीलंकाबाट १४, बंगलादेशबाट १६ र भुटानबाट ५ खेलाडीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा एकलतर्फ ७–७ स्वर्ण र टिम इभेन्टतर्फ १–१ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार