कोशी करिडोरको काम अघि बढ्यो ।

पूर्वी पहाडलाई तराई र काठमाडौँसँग जोड्ने द्रुत सडक मार्गको रुपमा लिइएको ‘कोशी करिडोर’को काम अघि बढेको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोट्याउने गरी अघि सारिएको यो योजनाको सातवटा प्याकेजकै ठेक्का स्वीकृत भएको हो।


सुनसरीको चतरादेखि पाँचथरको गणेश चोकसम्म दुई लेनको सडक बनाउने ‘कोशी करिडोर सडक विस्तार योजना–२’को पाँच प्याकेजको काम शुरु हुन लागेको छ भने दुई प्याकेज ठेक्का सम्झौता हुने चरणमा छन्। पाँच प्याकेजको ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको आयोजनाका इञ्जिनियर नारायण पौडेलले बताए।

उनका अनुसार दुई प्याकेजको ठेक्का स्वीकृत भइसकेकाले सम्झौता मात्र हुन बाँकी छ। ६ अर्ब १३ करोडको ठेक्का स्वीकृत भएको उनको भनाइ छ। चार अर्ब ९२ करोडमा ठेक्का लागेको पाँच प्याकेजमा काम शुरु हुन थालेको इञ्जिनियर पौडेलले जानकारी दिए।

हालै दुई प्याकेजका लागि रु एक अर्ब ४४ करोडको ठेक्का स्वीकृत भएको छ। बोलपत्र स्वीकृत गर्ने आशयको सूचना निस्किएकाले केही दिनमै सम्झौता हुनेछ। एकैपटक सातवटा प्याकेजको बोलपत्र आह्वान गरिएको थियो। दुई प्याकेजको ठेकेदार छनोटमा ढिलाइ भएको थियो। शुरुमा रु सात अर्बको इस्टिमेट थियो।

सम्झौता भएको ३० महिनाभित्र ठेकेदार कम्पनीले काम सक्नुपर्नेछ। एक सय ४५ किलोमिटर सडकमा ट्र्याक खोल्न र ग्राभेल गर्न ठेक्का लागेको हो। यसअघिको तमोर करिडोरको सडक र नयाँ ट्र्याक खोल्ने काम हुनेछ। ६० प्रतिशत नयाँ र बाँकी ४० प्रतिशत पुरानो ट्यांकीलाई प्रयोग गरिने इञ्जिनियर पौडेलले बताए। पुरानो ट्यांकीको पनि चौडाइ बढाउनुपर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार