तेक्वान्दो सघंमा विवाद चुलियो ।

आगामी सेप्टेम्बरमा इण्डोनेसियामा हुने १८ औं एसियन गेम्स (एसियाड) मा पदकको आशा गरिएको खेल तेक्वान्दोका दुई राष्ट्रिय संघहरुबीचको विवाद उत्कर्षमा पुगेको छ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ नामक दुई संघ दर्तामा छन् ।  उनीहरु दुवैले एसियाडका लागि आ–आफ्ना खेलाडीहरुको बन्द प्रशिक्षण घोषणा गरेपछि तेक्वान्दोको विवाद उत्कर्षमा पुगेको हो ।

आफूहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता प्राप्त रहेको बताउँदै नेपाल तेक्वान्दो संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरुसँग आवद्ध खेलाडीमात्रै एसियाडमा सहभागिता जनाउन पाउने बताएको छ।

राष्ट्रिय तेक्वान्दो संघ भने यसअघिका सदस्यसचिव युवराज लामाको पालामा राखेपमा दर्ता भएको थियो । राष्ट्रिय स्तरमा दुवै संघ अस्तित्वमा रहेकाले दुवै संघका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउँदै उत्कृष्ट खेलाडीहरुलाई एसियाडमा पठाउने वर्तमान सदस्यसचिव केशबकुमार विष्टले बताउँदै आएका छन् ।

तर, अन्तराष्ट्रिय मान्यता प्राप्त प्रकाश शम्शेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले भने आफूहरुमात्रै अन्तराष्ट्रिय मान्यता प्राप्त रहेको भन्दै यसअघि झै यसपटकको एसियाडमा पनि आफूहरुको सहभागिता हुने बताएको छ।

पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले एशियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय खेलाडी, प्रशिक्षकलाई अन्यौल र अन्याय नहोस भनेर आधिकारिक धारणा प्रस्तुत गरेको बताए ।

२०६९ सालमा युवराज लामा राखेप सदस्यसचिव हुँदा राष्ट्रिय तेक्वान्दो युनियनको नामबाट नयाँ संघ दर्ता भएको थियो। त्यही बेला संघले २०१४ को इन्चोन एशियाली खेलकुदमा आफ्ना एकजना खेलाडी कोरिया पठाएपनि अन्तर्राष्ट्रिय मान्यता नभएकाले उनले खेल्न पाएनन्।

पुसमा भएको राखेप च्याम्पियनसिपमा पनि तेक्वान्दो संघ र युनियनले छुट्टाछुट्टै प्रतियोगिता गराएर राष्ट्रिय टिम बनाएका थिए। चैतमा दुवै संघले १२–१२ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार