प्याराग्लाईडिङको एसियाली खेलका लागी १० खेलाडी छनौट ।

साहासिक खेल प्याराग्लाइडिङको एसियाली खेलकुदमा सहभागिताका लागि १० जना नेपाली खेलाडी छनोट भएका छन् । इन्डोनेसियाको जर्कातामा भदौ २ देखि १६ गतेसम्म सञ्चालन हुने १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङ खेलका लागि दुइटा विधामा १० जना खेलाडी छनोट भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले जनाएको छ ।


छनोट प्रतियोगितामा ४ जना वैकल्पिक खेलाडी समेत छानिएका छन् । छनोट भएका खेलाडी क्रसकन्ट्री बिधातर्फ टिम क्याप्टेन विमल अधिकारी, विशाल थापा, सुशील गुरुङ, शेरबहादुर गुरुङ र कृष्ण सुनुवार छन् भने वैकल्पिकतर्फ विजय दाहाल र निशिम थापा छनोट भएका छन् ।

त्यसैगरी एक्युरेसी बिधामा छनोट हुने खेलाडीहरूमा युवराज सुनुवार, मदनकुमार सुनुवार, युकेश गुरुङ, विजय गौतम र अनिश भट्टराई छन् । प्याराग्लाइडिङका लागि छनोट भएका नेपालले एसियाली खेलमा तीन मेडलका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार भएको छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा राष्ट्रिय टिम तयारी समितिका संयोजक वीरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग निर्देशक रिम रानाभाट, राष्ट्रिय टिम तयारी समितिका सदस्य अर्जुन विकको सहभागिता थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पोखरालाई प्याराइलाइडिङ खेलको राजधानीको रूपमा विकास गर्न एसियाली खेलमा सहभागिताले थप बल पुग्ने बताए ।

छनोटमा परेका खेलाडीहरू पोखरामा नै बन्द प्रशिक्षणमा राखिने भएको मुख्य प्रशिक्षक सानुबाबु सुनुवारले बताए । छनोट भएका खेलाडीलाई प्राविधिक रुपले समेत परिपक्व बनाउने उनले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार