माइभ्याली गोल्डकपको उपाधि थ्री स्टारलाई ।

थ्री स्टार क्लबले यस वर्षको पहिलो माइभ्याली गोल्डकपको उपाधि जितेको छ । मनाङ मर्याङदी क्लबलाई फाइनलमा १ –० गोलअन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले उपाधि जितेको हो । इलाममा भर्खरै सम्पन्न फाइनलमा निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको समयमा सुनिल वलले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मनाङका हेमन गुरुङ भए । उनले नगद १० हजार हात पारे। थपिएको समयको चौथो मिनेटमा गोल गर्दै वलले थ्रीस्टारलाई वर्षको पहिलो उपाधि दिलाएका हुन ।

जितसँगै थ्रीस्टारले ६ लाख ६६ हजार ६ सय ६७ नगद पाएको छ भने उपविजेता मनाङले चारलाख पाएको छ । विधागत तर्फका सवै पुरस्कार थ्री स्टारका खेलाडीले हात पारे। उत्कृष्ट गोलकिपर थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट डिफेन्डर रुस्लान थ्री स्टारका विदेशी खेलाडी पिटर सेगुन, उत्कृष्ट मिडफिल्डर थ्री स्टारकै सुनिल वल, वेष्ट फरवार्ड पनि थ्री स्टारकै अजयी मार्टिनले हात पारे। उनीहरुले समान जनही १५ हजार नगद पाए ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी भए । उदयीमान खेलाडी म्याइ भ्याली फुटबल क्लबका दर्शन गुरुङ घोषित भए। प्रशिक्षक र उदयीमान खेलाडीले दुवैले जनही १५ हजार हात पारे। मोस्ट भ्यालुएवल प्लेयर मनाङ मर्स्याङ्दीका कप्तान विराज महर्जन घोषित भए। उनले स्कुटर पाए।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहेको थियो । भारतको दुर्गापुर स्टिलक्लब, सिक्किम युनाईटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मरस्याङ्दी, झापा ११, कास्की ११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिष्पर्धा गरेका थिए । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार