चीन पठाउने चारवटै गैंडा समातियाे ।

नेपाल सरकारले चीनलाई उपहार दिने चारवटा गैंडा समातिएको छ। चितवन निकुञ्जका अधिकारीहरुले बिहीबार एउटा पोथी बच्चा गैंडा नियन्त्रणमा लिएपछि उपहारका लागि पठाउने गैंडा समात्ने काम पुरा भएको हो ।

समातिएका चारवटै बच्चा गैंडाहरु अहिले चितवन निकुञ्जको पुर्वी सेक्टर कार्यालय सौराहामा छन्। दुई भाले र एक पोथी गैंडा उपहारमा दिइदै छ। ठुलो गैंडा धेरै आक्रमक हुने भएका कारण बच्चा गैंडा चीन पठाउन लागिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चीन पठाउने गैंडा समाउन बैशाख ६ गतेदेखि टोली परिचालन भएको थियो। बैशाख १५ गते पहिलो पटक भाले बच्चा गैंडा नियन्त्रणमा आएको थियो। सौराहामा गत भदौंमा नै बाढीबाट उद्धार गरेको एउटा भाले बच्चा गैंडा छ। त्यसैले जंगलबाट दुई पोथी र एक भाले मात्रै समातिएको छ।

दोस्रो पटक बैशाख १८ गते पोथी बच्चा गैंडा समातिएको थियो। चितवन निकुञ्जको पश्चिम क्षेत्र खोरिया मुहानमा पहिलो र बाँकी दुई पोथी बच्चा गैंडा खोरिया मुहान नजिकै सुखिभार जंगल क्षेत्रबाट नियन्त्रणमा लिएको सुचना अधिकारी अर्यालले बताए।

निकुञ्जले सौराहामा खाल्डो खनेर काठले बारेको विशेष खालको खोर (बुमा)मा ती बच्चा गैंडाहरुलाई राखेको छ। जंगलमा रमाइ रहेका गैंडाका बच्चालाई नयाँ आहारा र बासस्थलसँग परिचित गराउन त्यसरी राखेको सुचना अधिकारी अर्यालले बताए। जंगलभन्दा बाहिरको नयाँ वातावरण अनुकुलको भएर कम आक्रमक भएपछि मात्रै चीन पठाइने छ। असारसम्म गैंडाहरु बुमामा नै रहने अर्यालले बताए।
गैंडाहरुलाई विशेष खोरमा राखेर विमानबाट चीन पठाइने छ। नेपालमा ठुलो एकसिंगे गैंडा पाइन्छ। यस्तो गैंडा प्राकृतिक वासस्थलमा नेपाल र भारतमा गरेर २९ सयको हाराहारीमा छ। नेपालमा सबैभन्दा धेरै गैंडा चितवन निकुञ्ज र यस आसपासको जंगलमा पाइन्छ।

देशभर ६ सय ४५ वटा एकसिंगे गैंडा रहेकोमा चितवन निकुञ्ज र वरपरको जंगलमा ६ सय ५ वटा गैंडाहरु रहेको तीन वर्षअघिको गणनाले देखाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार