अरुण-३ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास ।

अरुण-३ जलविद्युत आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले एक होटलबाट स्वीच थिचेर आयोजनाको शिलान्यास गर्नुभएको हो । आयोजनास्थल संखुवासभामा भएको औपचारिक कार्यक्रमको लाइभ टेलिकास्टका आधारमा दुई देशका प्रधानमन्त्रीले आयोजनाको शिलन्यास गर्नुभएको हो ।

सिलान्यासपछि आयोजनाको औपचारिक निर्माण सुरु भएको छ । आयोजना निर्माण गर्ने भारतीय सतलज जलविद्युत निगम (एसजेभिन) लामो समयदेखि मोदीबाटै आयोजनाको शिलन्यास गराउन इच्छुक थियो । भारतीय लगानीमा उत्पादित विद्युत उतै निर्यात गर्ने गरी सरकारले करिब १० वर्षअघि आयोजनाको अध्ययन अनुमतिपत्र दिएको थियो । आयोजनाबाट सरकारले कूल क्षमताको २१.९ प्रतिशत (१९७ मेगावाट) विद्युत निशुल्क पाउने समझदारी (एमओयू) भएको छ । प्रसारण लाइन निर्माणसहित करिब १ खर्ब ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण अवधि ५ वर्ष तोकिएको छ ।

उत्पादित विद्युत निर्यात गर्न विद्युतगृहदेखि भारतको मुजफ्फरपुर (३१६ किलोमिटर) सम्म ४ सय केभी उच्च क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । डबल सर्किट प्रसारण लाइनबाट पहाडी क्षेत्रमा २ हजार र तराईमा २ हजार ६ सय मेगावाटसम्म विद्युत प्रवाह हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार