आजबाट लोडसेडिङ अन्त्य हुदै ।

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । प्रणालीमा विद्युत थपिँदै गएको र विद्युतगृहको उत्पादनमा पनि सुधार देखिएकाले यस्तो घोषाणा गरेको हो । प्राधिकरणले आज औपचारिक रूपमा सूचना नै निकालेर लोडसेडिङ अन्त्यको घोषणा गर्न लागेको छ । अहिले औद्योगिक क्षेत्रको लोडसेडिङ दैनिक करिब ३ सय मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

देशभर औद्योगिक क्षेत्रको विद्युत माग करिब ३ सय मेगावाट अनुमान गरिएको छ । विद्युत उत्पादनमा वृद्धि, भारतबाट आयात तथा व्यवस्थापनले लोडसेडिङ अन्त्य गर्न सहयोग पुर्याएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वैशाखदेखि कार्यान्वयन हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने बताएका थिए ।

यही अनुसार प्राधिकरणका कर्मचारीलाई निर्देशन पनि दिएका थिए । मन्त्री पुनको निर्देशनअनुसार काम भइरहेको छ । प्राधिकरणले २०७३ साल तिहार लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठडमाडौं उपत्ययकामा लोडसेडिङ अन्त्य भएको घोषणा गरेको थियो । लगत्तै देशको प्रमुख सहरमा यसको कार्यान्वयन गरियो । विद्यमान प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्रमा आउन सक्ने प्राविधिक समस्या लोडसेडिङ नरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘मर्मत सम्भारका कारण विभिन्न समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोध लोडसेडिङ होइन,’ उनले भने । बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन प्राधिकरणले आग्रह गरेको छ । अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता) उपकरण प्रयोग गरी ऊर्जा बचतमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

थप हुँदै एक हजार मेगावाट
यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा धेरै बिजुली थपिने भएको छ। सरकारी तीन तीनवटा सरकारी आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ वटा आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली यसै वर्ष केन्द्रीय प्रशारण लाइनमा थपिन लागेका हुन्।

एक हजार मेगावाट बिजुली थपिएपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्ने प्राधिकरणले जनाएको छ। हाल मुलुकमा करिव १५ सय मेगावाट बिजुलीको माग छ। सरकारले आगामी पाँच वर्षभित्रमा मुलुकमा पाँच हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको छ।

चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना लगायतका कतिपय ठूला आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार