एकै दिन ४० आरोहीले सगरमाथा चुमे ।

सोमबार ४० आरोहीले सगरमाथाको चुचुरोमा पाईला राखेका छन् । आरोहण शुरु भएको दोश्रो दिन एकै पटक ४० जनाले सगरमाथाको सफल आरोहण गरेका हुन । सगरमाथा आधारशिविरमा रहेका सम्पर्क अधिकृत तिलक पाण्डेका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् ।

मौसम अनुकूलको पर्खाइमा क्याम्प चारमा मात्रै १सय भन्दा बढी आरोही रहेका छन् । दुवै खुट्टा नभएका चिनियाँ आरोही शिखरमा पुगेको पनि सम्पर्क अधिकृत पाण्डेले बताउनुभयो । बहाका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले सोमबार बिहान सगरमाथाको शिखरमा पाइला टेक्नुभएको हो ।

इमाजिन टेक्स एण्ड एक्सीडिसन प्रालि मार्फत आरोहण गर्नुभएका चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा रहेका थिए । उहाँसँगै सात चिनियाँ आरोहीले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । चिनियाँ टोलीसँगै नेपाली शेर्पा आरोही ताम्तिङ शेर्पा, किली पेम्बा शेर्पा, आङ्छिरिङ शेर्पा, टेण्डी शेर्पा र दावा ग्याल्जेन शेर्पाले पनि आजै आरोहण गर्नुभएको छ ।

शारीरिक रुपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ उदाहरण हो । यस वर्ष चार नेपालीसहित ३८ आरोहण दलका ३६४ आरोहीले सगरमाथा आरोहण गर्न विभागबाट अनुमति लिएका छन् ।  आइतबार मात्रै शेर्पा आरोहीहरु पासाङ तेञ्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जीनजेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा र डेटुक भोटेले चुचुरोसम्म डोरी टाग्न सफल भएका थिए  ।

गत वर्ष बाटोका कारण आरोहणमा केही ढिलाइ भए पनि यो वर्ष समयमै बाटो खुलेकाले आरोहण उत्साहपूर्ण रहने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार