सप्तकोशीमा बाह्रै महिना र्‍याफ्टिङ ।

पूर्वका तमोर, अरुण, सुनकोशीजस्ता नदीमा मात्रै हुँदै आएको र्‍याफ्टिङ अब सप्तकोशीमा पनि सुरु भएको छ। आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरी सप्तकोशीमा १२ महिना हुने र्‍याफ्टिङको बुधबारबाट औपचारिक रुपमा आरम्भ गरिएको छ।

अन्य नदीहरूमा बाढी र वर्षतको समयमा  र्‍याफ्टिङ गर्न नमिल्ने भए पनि सप्तकोशीमा भने सबै याममा र्‍याफ्टिङ सञ्चालन गर्न सकिने सञ्चालक सुरेश बस्नेतले बताउनुभयो । इटहरीमा कार्यालय रहेको रिभर डिप र्‍याफ्टिङ कम्पनीका सञ्चालक बस्नेतले वराह क्षेत्रदेखि श्रीलंका टापु हुँदै कोशी टप्पुसम्म र्‍याफ्टिङ सुरु गर्न लागेको जानकारी दिनुभयो ।  दर्जन हाराहारी रिभर गाइड र आफ्नै निजीयात्राको अनुभवले यो सम्भव हुने देखेको पनि सञ्चालक बस्नेतले बताउनुभयो ।

सो रुटमा विश्वस्तरीय धार्मिक तथा प्राकृतिक सम्पदाहरू रहेको र मनोरम दृश्यहरू भएकाले धेरैको आकर्षणको केन्द्र हुने सञ्चालक बस्नेत बताउनुहुन्छ । भगवानको अवतारका रुपमा मानिएको वराहक्षेत्र, प्राचीन हरिद्धार चतरा, दक्षिण एसियाको चरा भण्डार भनिने कोशी टप्पु वन्यजन्तु आरक्ष र विश्वको सबैभन्दा धेरै बालुवा बोक्ने दोस्रो नदीकोशीको एकमुष्ट आनन्द लिन पाइनाले  भएकाले यो रुट धेरै महत्वपूर्ण मानिएको छ ।

करिब २३ किलोमिटर लामो यो रुटमा धेरै छालहरूको जोखिम पनि नभएको, गहिरा गल्छीहरू नभएकाले नाउ पल्टिने अवस्था पनि नभएकाले जोसुकैले सहजै यात्रा गर्न सक्ने बस्नेतले बताउनुभयो । बस्नेत भन्नुहुन्छ ‘सप्तकोशीको यो रुटमा र्‍याफ्टिङ गर्दा र्‍याफ्टिङ खोज्नेले त्यो पनि पाउँछन् र सामान्य जोखिम मोलेर मात्रै यात्रा गर्न खोज्नेले पनि पाउँछन्। त्यसैले यो रुट सबै उमेर समूह र पौडी खेल्न नसक्नेलाई पनि सहज छ ।’

तमोर, अरुण, सुनकोशी, सप्तकोशीसहित नेपालका १३ नदीमा जलविहार गर्ने इजाज तलिएको रिभर डिप र्‍याफ्टिङले एक दिने प्याकेजको लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने बताएको छ। यो प्याकेजमा इटहरीबाट वराहक्षेत्रसम्म र कोशी टप्पुबाट इटहरीसम्मको गाडी सुविधा र जलविहारको समयमा बिहानको खाजा र दिउँसोको नास्ता पनि समेटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार