वसन्त ऋतुको सगरमाथा आरोहण सम्पन्न, चारसय बढी शिखरमा


यो वर्षको वसन्त ऋतुमा ४ सयभन्दा बढीले सगरमाथा आरोहण सम्पन्न गरेका छन् । वैशाख ३० बाट शुरु भएको आरोहण जेठ ११ गते सम्पन्न भएको हो । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको बताइएको छ । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।
यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ । जसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाबाट संकलन भएको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रुपैंयाँ रोयल्टी संकलन भएको छ ।
यसैगरी कञ्चनजंगाबाट ८२ लाख २६ हजार सात सय २०, धौलागिरीबाट ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट २० लाख ४७ हजार आठसय ७७ र मनास्लुबाट १४ लाख ९३ हजार दुई सय ८० रुपैंया रकम संकलन भएको छ ।
यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दल सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए ।
सगरमाथा आरोहणको रोयल्टी फरक ऋतुमा फरक÷फरक हुने पर्यटन विभागले जनाएको छ । विभागका अनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार सात सय ५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार पाँच सय र गर्मी याममा १८ हजार दुई सय ५० रुपैंयाँ रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार