टान पोखराले शुरु गर्यो एक महिने ट्रेकिङ गाइड तालीम


पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले एक महिने ट्रेकिङ गाइड तालीम शुरु गरेको छ । पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले ट्रेकिङ गाइड तालीम शुरु गरिएको हो ।
पदयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको अवस्थामा यसको व्यावसायिक विकास यसलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम आयोजना गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघले जनाएको छ ।
पदयात्रा क्षेत्रमा पर्यटकको संख्या बढाउन र यसतर्फ उनीहरूलाई आकर्षित गर्न मुख्य हात ट्रेकिङ गाइडको हुने भएकाले तालीम सञ्चालन गरिएको (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराल अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘एक महिने ट्रेकिङ गाइड तालीममा प्रदेश नं ४ र मुलुकका विभिन्न भागबाट गरी ३४७ जना सहभागी छन ।ʼ
टान पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको २५ औं वर्ष पुगेका अवसरमा यस किसिमका तालीम एवं क्षमता अभिवृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
तालीमको उद्घाटन गर्दै प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पदयात्रा पर्यटनलाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउन तालीम उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल आउने पर्यटकमध्ये अधिकाशं पर्वतीय पदमार्गका लागि आउने गरेको उल्लेख गर्दै उहाँले गाउँगाउँमा सडक बनाउने क्रमले पदमार्ग छोटिनुका साथै पर्यटकको बसाइँ समेत छोटिदैं गएको अवस्थाप्रति सबै गम्भीर बन्नुपर्ने बताउनुभयो ।
मन्त्री लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनपछि यस क्षेत्रमा भारतीय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको बताउँदैे अधिकांश भारतीयमा मुक्तिनाथ जानैपर्छ भन्ने धारण भए पनि हामी नेपालीले आफ्नै देशमा रहेको मुक्तिनाथ मन्दिरको प्रचारप्रसार गर्न नसकेको धारणा व्यक्त गर्नुभयो ।
मन्त्री लम्सालले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरी पोखरालाई पर्यटन केन्द्रको रुपमा विकास गर्न लागेको जानकारी दिँदै आगामी बजेट पर्यटन केन्द्रित हुने बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्नसँगै सन् २०२२ मा नेपालमा २५ लाख पर्यटक भित्र्याउने सरकारको योजना सफल पार्न पर्यटन व्यवसायीको महत्वपूर्ण भूमिका हुनेमा पनि उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार