तिलिचो तालमा प्रदूषण बढ्दो


मनाङ । विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल वरपर फोहोरको थुप्रो लागेको छ । तिलिचो तालमा पुग्ने पर्यटकले फाल्ने खानेकराका खोलहरु बाटोमा जथाभावि फालेपछि तिलिचोमा प्रदुषण बढेको हो । पर्यटकको चापसँगै ताल वरिपरि फोहरका डङ्गुरहरु देखिन थालेका छन् ।
पर्यटकले खाएका खानेकुराका खोलहरु, सिसाका बोतल, बिस्कुट, मिठाईका कागजले फोहोर तथा प्रदुषण बढ्न थालेको छ । मनाङको खांसारदेखि तिलिचो बेस क्याम्प आसपासमा पर्यटकले प्रयोग गरेर फालेका सामान जथाभावी छरपस्टिएको देख्न सकिन्छ ।
विगत केही वर्षयता आन्तरिक पर्यटकको चाप बढेसँगै तिलिचो ताल र आसपासको क्षेत्रमा फोहोर बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसासी र स्थानीय समुदायले फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखेता पनि प्रयोगमा भने आउन सकेको छैन ।
विदेशी पर्यटकले आफूले खाएका चीजबीजका खोल झोलामा बोकेर डस्टबिनमा फाल्ने गरे पनि आन्तरिक पर्यटकले भने जथाभावी फाल्ने गरेका छन् । यसरी पर्यटकले प्रयोग गरी जथाभावी फालेका फोहरले तिलिचो तालको वातावरण बिग्रीएको होटल व्यवसायीको गुनासो छ । ‘म वर्षै पिच्छे तिलिचो आउने गर्छु, पोहोरको तुलनामा अहिले तालको आसपासमा बढी फोहर भएको पाएँ ।’ ट्रेकिङ गाइड रामु अधिकारीले भने जसले गर्दा ताल वरिपरिको वातावरण धेरै प्रदूषित भएको छ, समयमा नै सचेत नगराउने हो भने तालको अस्तित्व नै धरापमा पर्ला जस्तो छ ।
मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । तिलिचो तालको अवलोकनका लागि सधैंजसो आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार