बीस लाख पर्यटक भित्र्याउने सरकारको महत्वाकांक्षी लक्ष्य, बजेटप्रति पर्यटन व्यवसायी सकारात्मक

सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटेको हो ।
यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा यस्तो घोषणा गर्नुभएको थियो । तर बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
सरकारले सो अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
‘सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिँदै पर्यटकीय पूर्वाधारमा लगानी बढाउने लक्ष्य राखेको सरकारले नेपाल नै पहिले’ भन्ने नारालाई समेत बजेटमा स्थान दिएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको सरकारले पहिले नेपाल अनि मात्र विदेश भन्ने अभियानसमेत सञ्चालन गर्न लागेको हो ।
पर्यटनबाट आयआर्जन र रोजगारी बढाउन मनोरञ्जन प्राकृतिक, पूरातात्विक ऐतिहासिक र धार्मिक तथा साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन तथा सेवा सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ ।
विशेषगरी भारत र चीनका पर्यटक भित्रयाउने लक्ष्यका साथ सरकारले ती देशमा प्रवद्र्धनात्मक कार्यक्रमसमेत सञ्चालन गर्ने बजेटमा लक्ष्य राखिएको छ । चीन र भारतका करीब अढाइ खर्ब जनसंख्यामध्ये १० प्रतिशतले मात्रै नेपाल भ्रमण गरे त्यसबाट अर्थतन्त्रमा सकारात्मक प्रभावपर्ने लक्ष्यका साथ छिमेकी देशलाई पहिलो प्राथमिकतामा राखेको हो ।
सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था गरिएको छ । भारत र चीन लक्षित पर्यटन प्रवद्र्धनको कामलाई तीव्रता दिने लक्ष्य राखिएको छ ।
हिमाल आरोहणलाई थप सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य बजेटमा राखिएको छ । सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरेको छ ।

हवाई क्षेत्रको विकासका लागि सरकारले १९ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । यसमा निजगढ विमानस्थलको निर्माण प्रक्रिया शुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य राखिएको छ ।
यस्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तारोन्नति गर्ने लक्ष्य राखिएको छ । सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने लक्ष्यसमेत बजेटले राखेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बजेटमा उल्लेख गरिएका प्राथमिकतालाई कार्यान्वयन गर्न मन्त्रालयले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं पर्यटन व्यवसायी दीपक महतले बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले बजेट कार्यान्वयनमा सरकारले कति इच्छाशक्ति देखाउँछ सोही आधारमा मूल्यांकन गर्न सकिने बताउनुभयो ।
नेपाल पर्वतारोहण संघका महासचिव कूलबहादुर गुरुङले पर्यटन क्षेत्रमा अपेक्षा गरेअनुसारको बजेट नआएको गुनासो गर्नुभयो । पर्यटक बढाउनका लागि बजेट र पूर्वाधारका कामलाई कम महत्व दिइएको महासचिव गुरुङले बताउनुभयो ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष नवराज दाहालले सरकारले प्रस्तुत गरेको बजेट समग्रमा सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार