‘अन्नपूर्ण डेʼ को अवसरमा म्याराथन


पोखरा । अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ । विश्वकै उत्कृष्ट १० पदमार्गका रुपमा परिचित अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण म्याराथन हुने भएको हो ।
प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसरमा खेल पर्यटनको विकास गर्ने उद्देश्यले अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन आयोजना गरिन्छ ।
म्याराथनमा सहभागी हुन देशभरीका विभिन्न स्थानबाट ५८ जनाले सहभागीता जनाउने भएका छन् । म्यारथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको हो ।
सहभागी हुन आएका धावकहरुलाई मंगलबार नै पोखरामा एक कार्यक्रम गरी अन्नपूर्ण आधार शिविरतर्फ बिदाई गरिएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।
संयोजक गुरुङका अनुसार म्याराथन जेठ २० गते विहान ६ः३० बजे चार हजार एकसय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु भइ एक हजार ६९० मिटर उचाइमा अवस्थित घान्द्रुकमा आएपछि म्याराथन समापन हुनेछ ।
धावकहरूले ४२.१९५ किमी दूरी पूरा गर्ने महोत्सव प्रचारप्रसार समितिका संयोजक टंकराज अधिकारीले जानकारी दिनुभयो ।
अन्नपूर्ण आधार शिविरतर्फ लागेका धावकहरू मंगलबार घान्द्रुक पुगी बुधबार छोम्रोङ, बिहीबार हिमालय हुँदै १८ गते शुक्रबार अन्नपूर्ण आधार शिविर पुग्ने र २० गते आइतबार उनीहरू म्याराथनमा सहभागी हुनेछन् ।
म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ«्रे आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, वाम्वो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ ।
प्रतियोगितामा नेपालका चर्चित धावकहरू नेपाली सेनाका हरि रिमाल, होमलाल श्रेष्ठ, पूर्ण तामाङ, शेखराज चौलागाईं, नेपाल प्रहरीका भूमिराज राई र भारतीय सेनाका धनबहादुर घर्ती मगर समेत सहभागी छन् ।
म्याराथनका लागि नौजना निर्णायकहरू परिचालन गरिने अन्नपूर्ण म्याराथनका प्रमुख निर्णायक एवं राष्ट्रिय खेलकूद परिषद्का एथ्लेटिक्स विभागका प्रमुख प्रशिक्षक कृष्ण बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वास्थ्यकर्मी, आवश्यक उपकरण एवं अन्य व्यवस्थापन पूरा भएको छ ।ʼ
जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको छ । यही सन्दर्भ पारी म्याराथन आयोजना गरिदैं आएको छ ।
म्याराथनमा पहिलो दास्रो तेस्रो हुने धावकले क्रमशः धावकले एक लाख, ७० हजार र ५० हजार नगद पुरस्कार पाउने र उत्कृष्ट १० भित्र पर्ने धावकले सान्त्वना पुरस्कार पाउने आयोजकले जनाएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगको शालिक निर्माण गरिने पनि आयोजकले जनाएको छ ।
गत असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरण अन्तर्गत पुस १० देखि १५ गतेसम्म विविध खेलकूद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार