मुक्तिनाथ, पोखरा लगायतका क्षेत्रमा भारतीय पर्यटकको संख्यामा बृद्धि

पछिल्लो समयमा मुक्तिनाथ, जनकपुर, पोखरा लगायतका पर्यटकीय गन्तब्यहरुमा भारतीय पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, मुक्तिनाथ भ्रमणपश्चात भने भारतीय पर्यकको संख्यामा बृद्धि भएको पोखराका पर्यटन व्यवसायीहरुले बताएका छन् । भारतीय पर्यटक मुक्तिनाथको दर्शन र हिमाली भू–भागको अवलोकन गर्न आउने गरेका छन् ।
भ्रमणका लागि नेपाल सरकारको सवारी पास अनुमति लिएर भारतीय पर्यटक आउने गरेका छन् । यतिबेला भारतका उत्तरप्रदेश, बिहार, सिक्किम, उत्तराखण्डलगायत स्थानका पर्यटक पोखरा घुम्न आएका छन् ।
पोखरा आउने भारतीय पर्यटक पोखरालाई आधार बनाइ उडानका माध्यमबाट जोमसोम विमानस्थल हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कतिपय पर्यटक सडक मार्ग प्रयोग गरी उक्त स्थानमा जाने गरेका छन् । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको संख्या बढेको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
भारतका विभिन्न ठाउँमा गर्मी ह्वात्तै बढेका कारण भारतीय पर्यटकको चाप बढेको नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेल बताउनुभयो ।
भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध संघसंस्थाले गरेका प्रवद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण भारतीय पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताउनुभयो । वार्षिक रुपमा हवाईमार्ग हुँदै पोखरा आउने भारतीय पर्यटकको संख्या करीब ६० हजार रहेको छ भने स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या दुई लाख रहेको छ ।
नेपाल आउने बाह्य पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा उक्त संख्या बढेर ५० देखि ६० प्रतिशतसम्म पुगेको छ । पोखरामा पर्यटकलाई लक्ष्य गरी व्यवसायीले रु एक खर्बभन्दा बढी लगानी गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार