मानसरोवरमा अलपत्र भारतीय पर्यटकको उद्धार जारी


सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत उद्वार गरेको जनाएको छ । प्रतिकूल मौसमका कारण उडान अवरोधले उद्धारमा कठिनाइ भए पनि सबैखाले संयन्त्र परिचालन गरी तीर्थयात्रीको उद्धार भइरहेको संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको हो ।
यही असार १७ र १८ गते उडान हुन नसक्दा तीर्थयात्रीलाई गन्तव्यमा पुर्याउन कठिन भएको थियो । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार ५५३ जना सिमिकोट तथा ३०० जना तीर्थयात्री हिल्सामा रहेका छन् । उनीहरुको बुधबार पनि उद्धार गरिएको र भोलिसम्म सबै यात्रीको उद्धार गरिने प्रवक्ता उपाध्ययले जानकारी दिनुभयो ।
भारतीय तीर्थ यात्रुको उद्धारमा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी तथा तारा, सिम्रिक र समिट एयरका हेलिकप्टर खाटिएका छन् ।
तीर्थयात्राका क्रममा कैलाश मानसरोबरमा लेक लागेर तीनजना र बाटोमा फर्कने क्रममा चारजना गरी जम्मा सात जनाको ज्यान गएको पनि पर्यटन मन्त्रालयले जनाएको छ ।
प्रत्येक वर्ष कैलास मानसरोवरमा लेक लागेर भारतीय तीर्थयात्रीको ज्यान जाने गरेको छ । गतवर्ष २१ जनाको ज्यान गएको थियो । उडान हुननसक्दा अलपत्र परेका भनिएका तीर्थयात्रीलाई होटलमा बस्न खान कुनै समस्या नरहेको पनि प्रवक्ता उपाध्यायले स्पष्ट पार्नुभयो । अबिरल वर्षाका कारण कैलाश मानसरोवरको यात्रामा गएका करिब एक हजार ६०० भारतीय तीर्थयात्री अलपत्र परेका थिए ।
हुम्ला र हिल्साबाट तीर्थयात्री नेपालगञ्ज ल्याउने क्रम शुरु
वर्षाका कारण हिमाली जिल्लामा उडान अवरुद्ध हुँदा हुम्लाको सिमिकोट विमानस्थल र नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका कैलाश मानसरोबरका भारतीय तीर्थ यात्रुलाई नेपालगञ्ज ल्याउने क्रम शुरु भएको छ ।

मंगलबारबाट जहाजको उडान नियमित भएपछि हुम्लाको सिमिकोट र हिल्सा क्षेत्रबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन थालिएको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताउनुभयो ।
‘मंगलबार तीनवटा उडान र बुधबार बिहानैदेखि भइरहेको उडानबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउने क्रम जारी छ’—सूचना अधिकारी गौतमले भन्नुभयो । नेपाल—तिब्बत सीमा क्षेत्रमा रहेकालाई हेलिकप्टरबाट हुम्लासम्म र हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज ल्याउन थालिएको छ ।
हुम्लाबाट भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज ल्याउन समिट, सीता र तारा एयरलाइन्सको दैनिक १०÷१२ उडान हुने र एक उडानमा १४ जनालाई ल्याउन सकिने सूचना अधिकरी गौतमले जानकारी गराउनुभयो ।
मंगलबार सिमिकोटबाट करिब १५० भारतीय तीर्थयात्रुलाई नेपालगञ्ज फर्काइएको र उहाँहरुको बसोवासको उचित प्रबन्धसमेत मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।
‘भारतीय तीर्थयात्रुलाई केही अप्ठेरो परेको छ भने स्थानीय प्रशाशन, प्रहरी र आप्mनो ट्राभल एजेन्सीमा सम्पर्क राख्न पनि हामीले आग्रह गरेका छौं’—प्रजिअ केसीले भन्नुभयो ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी गौतमका अनुसार हुम्लामा करीब पाँच सय भारतीय तीर्थयात्रु भएकोमा मंगलबार एकसय ५० र बुधबार पनि त्यसकै हाराहारीमा उद्वार गरीएको छ । नेपालगञ्ज आइसकेका भारतीय तीर्थयात्रुलाई नेपालगञ्जबाट काठमाडौँ उडान भर्न भने कुनै समस्या नभएको प्रजिअ केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार