एनएमएले बनायो साहसिक पदयात्राका लागि चेन एंकर


नेपाल पर्वतारोहण संघ (एनएमए) ले मकालुदेखि शेर्पानिकोल पास हुँदै सगरमाथा क्षेत्रको आम्फुलाप्चासम्म पदमार्गको स्थलगत पुनः अध्ययन(हालको अवस्था) तथा पासहरुमा चेन एंकर जडान (ढुंगामा फलामको हुक ठोकेर डोरी फिट गर्ने) शुरु गरेको छ । पदयात्रा र आरोहण तथा तथा उच्च क्षेत्रमा पदयात्रा गर्ने पदयात्रीहरुको सुरक्षा र सहज यात्राको लागि उक्त कार्य गरीएको एनएमएका अध्यक्ष शन्तबीर लामाले बताउनुभयो ।


दुई साता अघि शुरु गरिएको चेन एंकर जडान साहसी पदयात्रीका लागि उपयोगी हुनेछ । स्थायी र टिकाउ हुने गरी चेन एंकर जडान गरीएको एनएमएका महासचिव कुलबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चेन एंकर जडानपछि साहसी पदयात्रीमात्र नभएर पदयात्रीसंगै जाने सहयोगीहरुले समेत भोग्दै आएको समस्या र असजतालाई हदैसम्म सुरक्षित र सहज बनाउने छ ।’ चेन एंकर कम्तिमा पाँच वर्ष मर्मत गर्न नपर्ने गरी गुणस्तरीय सामाग्री जडान गरीएको पनि उहाँले बताउनुभयो ।


यस्ताखाले चेन एंकर जडान गरेपछि कम्पनीका समूहहरुले आफुले डोरी फिट गरेर आरोहण गर्न सक्नेछन् । एनएमएले पहिलो पटक साहसिक पदयात्रीको लागि स्थायी प्रकृतिको चेन एंकर जडान गरेको हो । चेन एंकर जडान गर्न एनएमएका कार्यसमिति सदस्य संजिव गुरुङको नेतृत्वमा मकालु बेसक्याम हुदै शेर्पानिकोल पास र आम्फुलापचामा एंकर जडान गर्ने काम सम्पन्न भएको महासचिव गुरुङले जानकारी दिनुभयो ।
यसैगरी सचिवालय सदस्य सिंगी लामाको नेतृत्वमा रहेको टोलीले पाँचपोखरीहुदै लाङटाङको क्यानजीङ गोम्पा सम्म साइनेज (पदमार्ग पहिचान गराउने सूचना पाटी तथा दिशा निर्देश चिन्ह) राख्ने कार्य सम्पन्न गरेको छ ।
कार्यसमिति सदस्य पासाङ टेन्डी शेर्पाको नेतृत्वमा लाङटाङ क्षेत्रको गंजाला पासमा चेन एंकर जडान सम्पन्न भएको एनएमएले जनाएको छ ।
एनएमएले लाङटाङ क्षेत्रको यालापिक बेसक्याम्प, नयाकाङ्गा बेसक्याम्प र गंजलापास आसपासमा पहिलो पटक सरसफाई गरी ६ सय केजी फोहोर संकलन गरेको छ । फोहोर संकलन कार्य सम्पन्न गर्न अझै एक साता लाग्नेछ । फोहोर संकलन कार्य सकिएपछि अभियान टोली काठमाडौं फर्कनेछन् । एनएमएले १५ लाख ३८ हजार रुपैयाँमा साहसिक पदयात्राका क्षेत्रमा उक्त कार्य सम्पन्न गर्न लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार