निर्माण सामाग्री ढुवानी समस्याले तल्लो सोलुको काम प्रभावित ।

नियमित वर्षाले सडक अवरुद्ध हुँदा निर्माण सामाग्री अभावमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको काम प्रभावित भएको छ । वर्षाले सडक अवरुद्ध हुँदा निर्माण सामाग्री ढुवानी हुन नसकेपछि सोलुखुम्बुको सोलु खोलामा निर्माणाधीन आयोजनाको काम प्रभावित भएको हो । वर्षाले सडक अवरुद्ध हुँदा डिजेल, सिमेन्ट, फलामे डण्डीलगायत सामाग्री ढुवानीमा समस्या भएपछि २ महिना यता आयोजनाको निर्माण प्रभावित भएको सोलु हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक आशिष गर्गले बताए । ‘हिलाम्य सडकमा २ महिनादेखि निर्माण सामाग्री ओसार्ने सवारी साधन चल्न सकेका छैनन,’ उनले भने,‘अहिले महंगो दरमा ट्याक्टरमार्फत अत्यावश्यक सामाग्री ढुवानी गरेर आयोजनाको काम अघि बढाउनु पर्ने बाध्यता छ ।’ उनका अनुसार कमजोर सडक पूर्वाधार भएकाले तल्लो सोलुसँगै यस कोरिडोरमा निर्माणाधीन अन्य आयोजनाको निर्माण पनि सुस्त भएको छ । ५० प्रतिशत निर्माण पूरा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको ५० प्रतिशत निर्माण पूरा भएको छ ।

२०७३ साउनबाट निर्माण सुरु भएको आयोजनाको आधा काम सकिएको हो ।आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको निर्माण समानान्तररुपमा अघि बढेको छ । बाँधमा ५० प्रतिशत काम सकिएको छ । यस्तै, सुरुङ र विद्युतगृहमा पनि ५०५० प्रतिशत निर्माण पूरा भएको कम्पनीले जनाएको छ । आयोजनाको साढे ४ किलोमिटर सुरुङमध्ये साढे २ किलोमिटर पूरा भएको छ ।

आयोजनाबाट २०७६पुसबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।१६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । नेदरल्यान्डस डेभलपमेन्ट फाइनान्स कम्पनी (एफएमओ), जर्मन डेभलपमेन्ट बैंक (डिइजी) र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफआइडी) ले ८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा नेपाली बैंकले पनि लगानी गरेका छन् ।

प्राइम बैंकको अगुवाइमा ५ नेपाली बैंकको ३ अर्ब रुपैयाँ लगानी छ । आयोजनामा ५ अर्ब स्वपुँजी (इक्विटी) लगानी छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सोलु कोरिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजनाबाट लक्ष्य अनुसार उत्पादन गर्न सम्भव देखिए पनि प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले विद्युत खेर जाने हो कि भन्ने चिन्ता प्रवर्धक कम्पनीलाई छ । तर, विद्युत प्राधिकरणले आयोजना पूरा हुनुअघि नै प्रसारण लाइन तयार हुने दाबी गर्दै आएको छ ।       साभार उर्जा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार