स्वास्थ्य क्षेत्रमा हिलारी ट्रष्टको महत्वपूर्ण सहयोग

सर एडमण्ड हिलारीको सहयोगमा सोलुखुम्बुको विभिन्न ७ स्थानमा अस्पताल तथा स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा छन् । सगरमाथा चढ्न सोलखुम्बु आएका बेला सामान्य खालका स्वास्थ्य सेवा नपाएर विरामीको ज्यान गएकोप्रति दृष्टिगत गरी उहाँले ति सेवा सञ्चालनमा ल्याउनुभएको थियो । अहिले पनि ति स्वास्थ्य संस्थाहरु उहाँकै नाममा स्थापित ट्रष्टको सहयोगमा सञ्चालित छन् ।

 

एउटै पनि स्वास्थ्य संस्था नहुदा अति दुर्गमका विरामीहरुको मर्कालाई ध्यानमा राखी सर एडमण्ड हिलारीको सहयोगमा सगरमाथा क्षेत्रका थामे, मन्जो, फोर्चे र महाकुलुङ क्षेत्रका बुङमा स्वास्थ्य क्लिनिक, खुम्जुङ स्थित खुन्देमा, खुन्दे अस्पताल र सदरमुकाम सल्लेरीमा सोलु अस्पताल फाप्लु सञ्चालनमा ल्याइएका थिए । यी स्वास्थ्य संस्थाहरुले अहिले पनि सेवा दिईरहेका छन् । सदरमुकाम सल्लेरीदेखि ३ कोष दक्षिणी क्षेत्रमा रहेको बुङ स्वास्थ्य क्लिनिकले अझै पनि त्यहाँको जनताको मन जितेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल नभएको बेला भारतको दिल्लीबाट दार्जिलिङ हुदै अरुण भ्याली भएर सगरमाथा क्षेत्र जाने क्रममा सर एडमण्ड हिलारीले सन् १९८४ मा हालको महाकुलुङ गाउपालिका १ बुङमा स्वास्थ्य क्लिनिक स्थापना गर्नुभएको थियो । त्यहाँबाट सोलुखुम्बु सहित छिमेकी जिल्ला संखुवासभा र भोजपुरका बासिन्दाले पनि सेवा लिएको बताईन्छ । साख जोगाउदै अहिले हिलारीकै नाममा संग्रालय तथा हेरचाह केन्द्रको रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्न लागेको व्यबस्थापन समितिका अध्यक्ष श्रीध्वज राईले बताउनुभयो । ‘विशेष गरि बालबालिका र जेष्ठ नागरिकलाई सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो’ अध्यक्ष राईले भन्नुभयो ।

हिमालयन ट्रष्ट नेपालमार्फत सर एडमण्ड हिलारी फाउण्डेशन न्युजिल्याण्ड, युके, जर्मनी, क्यानडा लगायतका देशहरुले ती अस्पताल तथा क्लिनिकहरुलाई आर्थिक रुपमा सहयोग गर्दै आएका छन् । हाल ति स्वास्थ्य संस्थाहरु नेपाल सरकार मातहतमा नै सञ्चालित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार