हिमालको फोहोर संकलन गर्दै एनएमए, हराएका बाटोहरुमा साइनेस पनि राखियो

पर्वतीय पर्यटनमा फरक विविधता बोकेको नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी हिमालसंग जोडिन्छ । सगरमाथा लगायत विभिन्न हिमालहरुको आरोहण गर्न, स्पर्श गर्न, दृश्यावलोकनका लागि पदयात्रा गर्न पर्यटकहरु हिमालतिर नै बढी लोभिन्छन् ।


हिमाली पदयात्रालाई गन्तब्य बनाउने पर्यटकहरुको यात्रा पनि लामो हुन्छ । यसरी यात्रामा जाने पर्यटकहरुले लैजाने खाने, लगाने, बस्ने सामाग्रीको व्यवस्थापन आफैले गर्छन् या कम्पनीले गरिदिन्छ । कतिपय हिमाली पदयात्रीहरुले गन्तब्यमा पुग्ने र फर्कने क्रममा आफुले उपयोग गरेको फोहोर व्यवस्थापनमा वेवास्ता गरिदिंदां दिनप्रतिदिन हिमाल फोहोर हुने क्रम बढ्दो छ ।


हिमाललाई सफा राख्नु पदयात्रीको पनि दायित्व हो । तर बाटोमा, पोखरीमा, यत्रतत्र फोहोर छरिएको देख्दा निक्कै नराम्रो लागेको बताउनुहुन्छ पासाङ टेण्डी शेर्पा । एनएमएका कार्यसमिति सदस्य शेर्पालाई हिमालमा त्यत्ति धेरै फोहोर होला भन्ने लागेको थिएन । शेर्पाले एनएमएबाट फोहोर संकलनका लागि नेतृत्व गर्दै लाङटाङ क्षेत्रको यालापिक बेसक्याम्प, नयाकाङ्गा बेसक्याम्प र गंजलापास आसपासमा सरसफाई गरी ६ सय केजी फोहोर संकलन गर्नुभयो । ‘हिमाल हामीले सोंचेभन्दा धेरै फोहोर भएको छ, हिमालको फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने हिमालको अस्तित्व खतरामा पर्ने निश्चित छ ।’ शेर्पाले भन्नुभयो ।


एनएमएले पहिलो पटक विभिन्न पासमा चेन एंकर जडान गर्नुका साथै हिमाली क्षेत्रको फोहोर संकलन गरेको हो । फोहोर मैला संकलनले त्यस क्षेत्रको वातावरणमा सकारात्मक प्रभाव पार्ने एनएमएका अध्यक्ष शन्तबीर लामाले बताउनुभयो ।


हिमाली क्षेत्रबाट संकलन गरी काठमाडौं ल्याइएको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासंग कुरा भइसकेको एनएमएका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । फोहोर संकलनलाई निरन्तरता दिने पनि एनएमएले जनाएको छ ।
यसैगरी एनएमएका सचिवालय सदस्य सिंगी लामाको नेतृत्वको टोलीले सिन्धुपालचोकको पाँचपोखरी र तिलमानपाससम्म ५५ वटा साइनेज (पदमार्ग पहिचान गराउने सूचना पाटी तथा दिशा निर्देश चिन्ह) राख्ने कार्य सम्पन्न गरेको छ । बाटोहरु हराउने, अलमलिने खालको भएपनि अब साइनेसले गर्दा स्पष्ट भएको लामाले बताउनुभयो ।


पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको एनएमएले पर्वतारोही र पदयात्रीको सुविधा र सहज यात्राका लागि पहिलो पटक सगरमाथा क्षेत्रको मेरा पिक हाईक्याम्पमा दुईवटा शौचालय समेत निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार