पर्यटक भित्र्याउन महोत्सव


पाँचथर । प्राकृतिक रुपमा सुन्दर पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गरिने भएको छ । महोत्सवबाटै प्रचारप्रसार गर्ने तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्न लागिएको हो ।
पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बु पोखरी प्राकृतिक सुन्दरता र स्वच्छ वातावरणकै कारण आकर्षक देखिन्छ । पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको हो । पछिल्ला वर्षमा मानिसको आकर्षण र चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागि ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो ।
चार हजार चार सय ४८ मिटर उचाईमा यही भदौ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताउनुभयो । महोत्सवका लागि १४ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न १०१ सदस्यीय मूल आयोजक समिति र नौ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।
हिमाली क्षेत्रका रुपमा चिनिने यस क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको संख्यामा वृद्धि भएको छ । महोत्सवमा अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम, चौरीको प्रदर्शन, दूधजन्य उत्पादनको प्रदर्शनीलगायत राखिएको छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माइकोपिलाजस्ता फूल तथा बहुमूल्य जडीबुटी अवलोक गर्न पाइन्छ ।
तिम्बुपोखरी महोत्सवलाई भव्य बनाउका तयारी थालिएको स्थानीय गोठ सञ्चालक भीम भण्डारीले बताउनुभयो । महोत्सवमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत पर्यटक आउने विश्वास आयोजकको छ । तिम्बुपोखरी क्षेत्रमै आगन्तुकलाई बस्ने व्यवस्था गर्ने तयारीसमेत गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ । पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै अथवा पाँचथरको चिवाभञ्याङदेखि, इलामको सन्दकपुर हुँदै तिम्बुपोखरी पग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार