हिमालले उजाडिएको जिन्दगीको कथा

मलिन अनुहार, हातमा साना साना झोला बोकेर एकै लहरमा बसेका छन् । सबैको फिका मुहारमा हाँसो देखिदैंन । अनुहारको हाउभाउले कुनै कुराको प्रतिक्षा गरिरहेझै भान हुन्छ । ठूलो भीडमा कोहि कसैसंग परिचीत छैनन् । परिचीत छन् त केबल एउटै ब्यथा र पिडासँग । सायद उनीहरुलाई कसैसँग परिचित हुनु पनि छैन ।
कसैले केही सोधी हाले पनि खासै बोल्न चाहँदैनन् । उनिहरुलाई आफ्नै पिडाले बोल्न नसक्ने गरि थिचेको छ । सोलुखुम्बुकी याङ्जी शेर्पा, पासाङ ल्हामु शेर्पा र डोमा शेर्पा यी प्रतिनिधि पात्र हुन्, जसको सुहाग हिमालले खोसिदिएको छ । साना साना नानीहरूलाई टुहुरो बनाइदिएको छ । उमेरले भर्खरै ३०÷३१ वर्ष लाग्दा नै उनीहरूको भविश्य हिऊले डढेको उजाड हिमाल जस्तै बनेको छ ।
परिवारको खुसी जोहो गर्न हिमाली पर्यटनमा सक्रिय रहेका श्रीमान हिमालबाट नफर्केपछि उनीहरुको भविश्य र कलिलो जवानीमा तुषारोपात भयो । श्रीमान बितेको तीन चार वर्ष भइसकेछ तर त्यो पिडा अझै कम भएको छैन ।
याङ्जीका श्रीमान पेमा शेर्पा सगरमाथा आरोहण दलको सहयोगीका रुपमा जादा उतै बिते । पासाङ ल्हामुका श्रीमान पेम्बा शेर्पा अन्नपूर्ण हिमाल आरोहणका क्रममा बिते । डोमाका श्रीमान सोना शेर्पा भने पाकिस्तानको नङ्गा पर्वत आरोहणमा बितेका हुन् । दुईचार पैसा कमाएर आउला र आफ्नो खाँचो टारौला, आफुलाई मनलागेको खाउँला, लाउला, लालाबालालाई राम्रो पढाउला भन्ने सपना लिएर हिमाल गएका श्रीमानले कहिल्यै नफर्किने गरी आफ्नो जिवन हिमालमै समर्पण गरेपछि उनीहरूको पिडा उठेर पहाड बनेको छ ।
अहिले त्यही दुःखको हिमाल चढ्दै छिन्, याङ्जी शेर्पा । यो पिडाले याङ्जीलाई मात्रै हैन, उनका साना÷साना नानीहरूलाई समेत नराम्रोसँग पिरोलेको छ । सोलुखुम्बु बुङमकी याङजीले श्रीमान गुमाएपछि आफु र तीन सन्तान सम्हालेको तीन वर्ष भयो । पिडा पोख्दै गर्दा आँखामा रसाएको आँसु लुकाउन सकिनन् याङ्जीले । तेत्तीसौं वसन्त टेक्दै गरेकी याङ्जीले आफ्ना तीन सन्तानलाई पालनपोषण र शिक्षा दिन मुस्किल परेको सुनाईन् । नेपाल पर्वतारोहण संघ (एनएमए)ले बितरण गर्ने छात्रबृत्तिको रकम लिन याङजी कार्यक्रममा पुगेकी थिइन् ।
हिमाललाई कर्मथलो बनाएका श्रीमानलाई हिमालले सधैंका लागि आफ्नै छातीमा राखेपछि ३२ वर्षीय पासाङ ल्हामु शेर्पाले पनि याङ्जीकै जस्तो समस्या भोगीरहेकी छिन् । श्रीमानको निधनपछि एक्लो जीवनको जिउने साहारा नै छोराछोरी भएको उनले बताइन् । ‘छोराछोरीलाई हेरेर मन बुझाउँछु’, शेर्पाले भनीन् । छोराछोरीको लागि छात्राबृत्ति लिन उनी पनि त्यहि लहरमा बसेकी थिइन् । उनीहरुलाई त्यहाको चहलपहल र रौनकताबारे कुनै चासो थिएन । उनीहरुसंग छेउमा आएर कुरा गर्ने पनि कोहि देखिंदैनथे ।
पाँच वर्षअघि हिमाल अरोहणमा सहयोगीको रुपमा गएका श्रीमानको निधनले भरभराउँदो उमेरलाई छोराछोरीको खुशीमा समेटेकी छन् ३५ वर्षीय डोमा शेर्पाले पनि । ३० वर्षकै उमेरमा श्रीमान गुमाउँदाको पिडा आलै लाग्छ डोमालाई । छोराछोरीको राम्रो शिक्षाका लागि रित्तो झोली फैल्याउन बाध्य उनीहरुको अनुहारमा त्यो पिडा स्पष्ट झल्कन्थ्यो । कसैले नसोधेपनि नखोजे पनि एउटै पिडाबाट गुज्रिरहेका डोमा, पासाङ, याङ्जीहरु एकअर्कामा बेलाबेला खासखुस गर्थे ।
उनीहरुलाई हेर्दा लाग्थ्यो हिमालको सुन्दरताभित्रको दर्दनाक पिडा उनीहरुभित्र पो लुकेको रहेछ । हिमालको सुन्दरता चिनाउने ती युवाहरु जस्ता धेरैले हिमालमा आफ्नो जिवन समर्पण गरेका छन् । पर्यटन क्षेत्रलाई कर्मभूमि बनाउनु उनीहरुको रहर थियो या बाध्यता तर हिमालमै ज्यान जानु केबल नियतिको दोष थियो । आजसम्म हिमाल आरोहणमा सहयोगी भएर जाने दर्जनौले ज्यान गुमाएका छन् । हिमालसंग मृत्यु साट्ने उनै गाईडहरु हुन् ।
हिमाल आरोहण गर्नु सहज छैन । झन गाइड बनेर आरोहणमा सहयोग गर्नु चुनौतिपूर्ण छ । हिमाल नै आफ्नो प्रिय साथी मान्ने साहसीहरुको साहसको कदर गरिनुपर्दछ । हिमालको सुन्दरतालाई ज्यानै समर्पण गर्ने ती हिमालप्रेमीहरुको रेखदेखको जिम्मेवारी पनि पर्यटन क्षेत्रले उठाउनै पर्छ । आखिर पिडाको घाउमा मल्हम लगाउने काम पर्यटन क्षेत्रकै हो । छोराछोरीलाई हेरेर जीउने साहस गर्ने दिदिबहिनीहरुलाई सलाम ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार