उपकरण जडानमा ढिलाई हुदा सोलु जलविद्युत आयोजना २३.५ को विद्युत उत्पादन तालिका प्रभावित ।

उपकरण जडानमा ढिलासुस्ती हुदा सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुने भएको छ । इलेक्ट्रो मेकानिकल ठेकेदारको लापरबाहीका कारण सोलुखुम्बुमा निर्माणाधीन २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुने भएको हो । इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का पाएको भारतको एन्ड्रिज हाइड्रोले विद्युतगृहमा उपकरण जडानको काममा ढिलासुस्ती गर्दा आयोजनाको उत्पादन अवधि लम्बिने भएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका कार्यकारी निर्देशक शशीसागर राजभण्डारीले बताए ।

सिभिल तथा हाइड्रो मेकानिकलतर्फको काम अन्तिम चरणमा पुगे पनि ठेकेदारले विभिन्न बहानामा इलेक्ट्रो मेकानिकलतर्फको काममा ढिलाइ गरेकाले आगामी फागुनका लागि तय भएको विद्युत उत्पादनको तालिका जेठसम्म सर्ने भएको उनले बताए । ‘विद्युतगृहको कामले गति नलिँदा आयोजना प्रभावित भएको छ,’ उनले ऊर्जा खबरसँग भने,‘ दैनिक ताकेता गरिरहेका छौं । मुख्य उपकरण आयोजना स्थलमा पुगे पनि छुटेका उपकरण आयातमा भएको ढिलाइले काम सुस्त छ ।’ उनले विद्युतगृहमा जडान हुने स्टेटर र रोटर रक्सौलमा रोकिएको बताए ।

रक्सौलमा रोकिएको सामान आयात चाँडो गर्न ताकेता गरिए पनि ठेकेदारले आलटाल गरेको उनको आरोप छ । ठेकेदार कम्पनीको प्रमुख भारतको दिल्लीमा रहेकाले इमेलबाट मात्रै संवाद हुने हुँदा कामले गति लिन नसकेको उनले बताए । आयोजनाको ९५ प्रतिशत निर्माण पूरा भएको छ । बाँध क्षेत्रमा इन्टेक, एप्रोच क्यानल (पहुँच नहर) र डिसेन्डर (बालुवा थिग्राउने पोखरी) तयार भएको छ । बाँध क्षेत्रको प्रतिशत निर्माण पुरा भएको छ । बाँधदेखि विद्युतगृहसम्म पानी पुर्याउने ३ हजार ९ सय मिटर लामो पाइप बिछ्याउने काम पनि सकिएको छ । हाइ प्रेसर पेनस्टक पाइपको काम अन्तिम चरणमा छ ।

बाँकी रहेको इलेक्ट्रोमेकानिकलतर्फको काम पूरा भएपछि अब आयोजनाबाट २०७६ को जेठबाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको लम्माने सबस्टेसनमा जोडिनेछ । प्राधिकरणले निर्माण गरिरहेको लम्माने सबस्टेसनसम्म आवश्यक २.८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सबस्टेसनसम्म आवश्यक १२ वटा टावर खडा गरेर ८ मा तार तान्ने काम सम्पन्न भएको कम्पनीले जनाएको छ । अब विद्युतगृह नजिकैका ४ टावरको तार तान्न बाँकी छ ।

आयोजनाको निर्माण अन्तिम चरणमा पुगे पनि प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन निर्माणको काम सुस्त गतिमा भइरहेकाले विद्युत खेर जाने चिन्ता बढेको राजभण्डारीले बताए । सोलु कोरिडोर तयार नभए आयोजनाको विद्युत ३३ केभी बुईंपा–ओखलढुङ्गा प्रसारण लाइनमार्फत ओखलढुङ्गा सबस्टेसनमा जोड्ने विकल्प राखिएकोमा प्राधिकरणले यसबारेमा पनि गम्भिरता नदेखाएको उनको गुनासो छ ।

सोलु कोरिडोर प्रसारण लाइन तयार नहुन्जेल वैकल्पिक लाइनबाट हिउँदमा ९० प्रतिशत र बर्खामा ३५ प्रतिशत विद्युत प्रणालीमा जोड्न सम्भव हुने कम्पनीको भनाइ छ । साभार उर्जा खबर डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार