डा. हर्क गुरुङ पर्वतीय पुरस्कार डा. लीलाई

काठमाडौं । प्रसिद्ध भूगोलविद् स्वर्गीय डाक्टर हर्क गुरुङको नाममा स्थापित पर्वतीय पुरस्कार दक्षिण कोरियाका आरोही डाक्टर ईन जियाङ लीलाई प्रदान गरीएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले स्थापना गरेको सो पुरस्कार यो वर्ष डा. लीलाई प्रदान गरिएको हो ।

आईतबार आयोजित बिशेष समारोहकाबिच डा. लीलाई पर्यटनमन्त्री रबीन्द्र अधिकारी र एनएमएका अध्यक्ष शन्तबीर लामाले सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो । डा. लीले विश्वका आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसक्नुभएको छ । यूनियन अफ एशियन अल्पाईन एशोसिएसन (यूएएए) का अध्यक्ष समेत रहनुभएका डा. ली एसियाको उच्च पर्वतीय वातावरण, पर्वतीय समुदाय र पर्वतीय विविधताको संरक्षणमा काम गर्दै आईरहनु भएको छ । एनएमएले सोही योगदानको कदर गर्दै डां लीलाई ‘डा. हर्क गुरुङ पर्वतीय पुरस्कार’बाट सम्मानित गरेको हो ।

पुरस्कार ग्रहण गरेपछि डा. लीले नेपाली समुदायले आनो योगदानको कदर गरेकोमा कृतज्ञता ब्यक्त गर्नुभयो । ‘सन् १९७६ मा पहिलो पटक नेपाल आउँदा मेरो कपाल कालो थियो । अहिले कपाल फुलेर सेतो भईसकेको छ’, डा. लीले भन्नुभयो, ‘यो अवधिमा मैले गरेको कामलाई तपाईहरुले सम्मान गरिदिनु भएको छ । नेपाल र नेपालीहरूले गर्नुभएको मायाका लागि धन्यबाद दिन चाहन्छु ।

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले डा. लीले गर्नुभएको कामको प्रशंसा गर्नुभयो । ‘डा. हर्क गुरुङ जस्तो प्रसिद्ध ब्यक्तित्वको नाममा स्थापित पुरस्कार डा. लीले प्राप्त गर्नुभएको छ । डा. लीले अहिलेसम्म गर्नुभएको काम र योगदानका लागि यो पुरस्कार उचित हो भन्ने महसुस् मैले गरेको छु’, मन्त्री अधिकारी भन्नुभयो, ‘सम्मानित ब्यक्तित्वलाई बधाई दिन चाहन्छु ।’

मन्त्री अधिकारीले भ्रमण वर्ष २०२० का लागि डा. लीलाई नेपालका लागि दक्षिण कोरियाका सद्भावना दूतको रुपमा नियुक्त गरिएको निर्णय समेत सुनाउनु भयो । समारोेहमा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार