कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुले दिए विशेष महाधिवेशनको अभियान चलाउने चेतावनी

नेपाली कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरुको भेलाले सबै महाधिवेशन प्रतिनिधिहरु तल्लो तहबाटै निर्वाचन भएर आउनुपर्ने र समानुपानतिक समावेशी अवसर एक व्यक्तिले एकपटकमात्र पाउने व्यवस्था विधानमै राख्नुपर्ने माग गरेको छ ।आफूहरुको मागको सम्बोधन नभए विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सन्चालन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

दुई दिनसम्म काठमाडौंमा चलेको जिल्ला सभापतिहरुको भेलाले आगामी शनिबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट यसअघि भएको निर्णय पुनःविचार गर्नुपर्ने माग पनि गरेको छ ।

भेलापछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले महासमितिको ‘म्यान्डेट’अनुसार चैत २३ गते बस्ने केन्द्रीय समिति बैठकले आफूहरुको माग सम्बोधन नगरे विशेष महाधिवेशनका लागि देशभर हस्ताक्षर अभियान चलाउने बताएका हुन् ।

भेलाले सबै भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाहरुको अधिवेशन समयमै गर्न, स्थानीय तथा प्रदेश तहका अहधिवेशनहरु तत्काल थाल्न पनि माग गरेको छ ।सरकार अधिनायकवादतर्फ उद्दत भएको निष्कर्ष निकाल्दै भेलाले सरकारविरुद्ध मेची–महाकाली अभियान चलाउन पार्टी नेतृत्वसँग माग गरेको छ ।

यस्तै, बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई सबै जिल्लाबाट राहत संकलन गरी पठाउने निर्णय पनि गरेको छ ।भेलामा सभापति शेरबहादुर देउवाइतरका ४४ जिल्ला सभापतिहरु सहभागी भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार