विश्वमा फाँसीको घटनामा कमी,

एम्नेस्टी इन्टरनेसनलले गएको वर्ष अर्थात् सन् २०१८ मा फाँसीको घटना कम भएको जनाएको छ । गत वर्षहरुको ‘डाटा’को तुलनामा सन् २०१८ मा राज्यहरुले दिने मृत्युदण्ड एक तिहाइभन्दा पनि कम रहेको एम्नेस्टीले जनाएको हो । गत वर्ष चीनबाहेकका बीस देशमा मात्रै ६९० जनालाई फाँसी चढाइएको छ । जबकि, यो सन् २०१७ को तुलनामा ३१ प्रतिशतले कम हो । सन् २०१७ मा यो संख्या ९९३ थियो ।

तर, चीनले मात्रै एक हजार मानिसलाई मृत्युदण्ड दिएको हुनसक्ने एम्नेस्टीले जनाएको छ । चीनमा स्वतन्त्र अनुसन्धान र सूचना संकलनका लागि निषेध गरिएकाले कति मानिसलाई राज्यले फाँसीमा चढायो भन्ने यकिन हुन नसकेको हो । सबैभन्दा बढी मृत्युदण्ड दिँदै चीन यो सूचीमा पहिलो नम्बरमै रहेको हुनसक्ने एम्नेस्टीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । इरानमा नशायुक्त औषधि सेवन गरेमा मृत्युदण्ड हुने प्रावधान हटाएसँगै गत वर्षको तुलनामा ५० प्रतिशतले फाँसीको घटनामा कमी आएको जनाइएको छ ।

आफ्ना नागरिकलाई सबैभन्दा बढी मृत्युदण्ड दिने अरु मुलुकमा इरान, साउदी अरब, भियतनाम र इराक रहेका छन् । फाँसीमा चढाइएको ६९० घटनामा यी देशले मात्र ७७ प्रतिशत हिस्सा ओगटेका छन् । बुधबार प्रकाशित प्रतिवेदशनअनुसार अरु देशमा मृत्युदण्ड दिनेक्रम घटिरहेका बेला अमेरिका, जापान, सिंगापुर, दक्षिण सुडान र बेलारुससहितका केही देशमा भने फाँसी लगाइएको घटना बढेको पनि एम्नेस्टीले जनाएको छ ।

एम्नेस्टीका महासचिव कुमी नायडूले विश्वस्तरमा फाँसीका घटनामा कमी देखिनुले मृत्युदण्डका लागि कुख्यात देशहरुले पनि दण्डको स्वरुप बदल्न थालेको बताएका छन् । गएको वर्षको अन्त्यसम्ममा १०६ देशले सबैखाले अपराधमा मृत्युदण्डको सजाय हटाएको पनि एम्नेस्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार