लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन सम्पन्न ।

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा भएको विमान दुर्घटनाको विषयमा छानबिन गर्न गठित समितिले बुधबार स्थलगत अध्ययन गरेको छ । टोलीले बुधबार लुक्ला आएर स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

तीन जनाको ज्यान जाने गरी गएको आइतबार समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना भएको भोलिपल्टै संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा रहेको तीन सदस्य टोली बुधबार नै स्थलगत अध्ययनपछि काठमाण्डौ फर्किएको छ । छानबिन समितिमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, तारा एयरका वरिष्ठ क्याप्टेन रवीन्द्र डंगोल र नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ रहनुभएको छ ।

नयाँ वर्षको दिन लुक्लाबाट रामेछापको मन्थली पर्यटक लिनका लागि उडेको विमान धावन मार्गमा चिप्लिएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि टोलीले बुझाएको प्रतिवेदनपछि मात्रै सत्यतथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

दुर्घटनामा विमानका सहचालक सुजित ढुंगाना, सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षकद्वय रामकुमार खड्का र रुद्रबहादुर श्रेष्ठको ज्यान गएको थियो ।

खड्का र ढुंगानाको घटनास्थलमै मृत्यु भएको थियो भने श्रेष्ठको उपचारका लागि काठमाण्डौ लैजाने क्रममा मृत्यु भएको थियो । दुर्घटनामा अन्य चार जना घाइते भएका थिए ।

यसैबीच समिट एयरका सहचालक सुजित ढुंगानाको आज बौंद्ध परम्परा अनुसार अन्तेष्टी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार