मेघौली विमानस्थल स्तरोन्नतीबारे सरोकावाला निकायको चासो


काठमाडौं । पश्चिम चितवनको मेघौली स्थित विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नेबारे सरोकारवाला निकायले चासो देखाएको छ । मेघौली क्षेत्रमा होटल र होमस्टे भएकाले त्यहाँ आउने पर्यटक र स्थानीयलाई लक्षित गरी पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नती गर्नुपर्नेमा सरोकारवालाहरुले चासो देखाएका हुन् ।
पर्यटन विकास समिती चितवनका महासचिव विश्व सुवेदीका अनुसार उक्त क्षेत्रमा रहेका १० होटल र १० होमस्टेमा चार सयजना भन्दा बढी पर्यटकलाई सेवासुविधा दिन सक्ने क्षमता छ । हाल आंशिक रुपमा चार्टर उडान मात्र हुने उक्त विमानस्थल वि.सं. २०१६ मा निर्माण भएपछि २०६९ सम्म नियमित उडान हुँदै आएको थियो ।

विमानस्थलको स्तरोन्नती गर्न सकिए ७२ सिटे जहाज अवतरण गराउन सकिने नागरिक उड्ययन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमले बताउनुभयो । एक हजार मीटर लम्बाई रहेको उक्त विमानस्थलको लम्बाई थप पाँच सय मीटर बढाउन सकिने उहाँले बताउनुभयो । ‘तर नजिकै २०० मिटर क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्वासी बस्तीको विकल्प दिएर मात्र धावनमार्गलाई बढाउन सकिन्छ ।’

भरतपुरको चौबीसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल धावनमार्ग यतिबला घाँसे मैदान बनेको छ । विमानस्थल क्षेत्र २३ बिघा क्षेत्रफलमा फैलिएको छ ।  संघ र प्रदेशको गएको निर्वाचनको समयमा एक महिना नेपाल एयरलाइन्सले जहाज उडाएको भए पनि त्यसयता निरन्तरता पाउन सकेको छैन ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगरटप्स खुलेसँगै शुरु भएको विमानस्थल होटल बन्द भएसँगै बन्द हुन पुगेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले विमानस्थल स्तरोन्नति गरेमा आफ्ना एयरलाइन्सका ठूला जहाज सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । पर्यटकीय विमानस्थलका रूपमा यो विमानस्थललाई विकास गर्नुपर्ने उहाँको भनाइ छ । भरतपुरमा विमान अवतरणका क्रममा समस्या देखिएमा मेघौलीमा आकस्मिक अवतरण गराउन सकिने देखिएको छ ।

विमानस्थलको अवलोकनपश्चात प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले दुई विमानस्थल रहेको एकमात्र स्थानीय निकायका रुपमा चित्रित भरतपुर महानगरका दुईमध्ये भरतपुरलाई आन्तरिक र मेघौलीलाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उक्त विमानस्थलको स्तरोन्नतीका लागि प्रदेशसभा र प्रदेश सरकारमार्फत आवश्यक पहल गर्ने उहाँको भनाइ छ ।

भरतपुर महानगरका प्रमुख रेनु दाहालले मेघौली विमानस्थललाई यथास्थितिमा निरन्तरताभन्दा पनि अत्याधुनिक र विकसित स्वरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, मेघौलीलाई चितवनको मुख्य विमानस्थल बनाउने कुरामा दुईमत छैन, हामीले यसको पहलकदमी लिनुपर्छ ।” उहाँले रात्रिकालीन उडानसमेत गर्नसक्ने गरी स्तरोन्नती गर्न सबैले पहल थाल्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार