माथिल्लो सोलु जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम आधा सकियो ।

माथिल्लो सोलु जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम ५० प्रतिशत पूरा भएको छ । सोलुखुम्बुको बेनीमा निर्माणाधिन आयोजनाको सुरुङ आधा सकिएको हो । आयोजनाको मुख्य सुरुङ २ हजार ४ सय मिटर लामो छ । बाँध क्षेत्रको संरचना निर्माणको काम ८० प्रतिशत पूरा भएको आयोजना प्रमुख सुमन मानन्धरले बताए ।

उनका अनुसार बाँध क्षेत्रको डिसेन्डर ८० प्रतिशत सम्पन्न भएको छ । इन्टेकको काम पूरा भइसकेको छ । विद्युतगृहको संरचना निर्माणको काम पनि सुरु भएको छ । विद्युतगृहको काम सुरु गरेर इलेक्ट्रोमेकानिकल उपकरण आयात गरिने पनि उनले बताए । बेनी हाइड्रो पावर कम्पनीले २०७३ फागुनबाट आयोजना निर्माणको काम थालेको हो ।

यो आयोजना अबको १० महिनामा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना पूरा भएपछि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङलास्थित सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

सबस्टेसनसम्मको १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

आयोजना सम्पन्न गर्न ३ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ४ बैंकले २ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी र १ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ ।  २०७१ साउनमा आयोजनाको अनुमतिपत्र खारेज भए पनि विद्युत ऐन, २०४९ को दफा ३७ अनुसार मन्त्रिपरिषदले करार सम्झौता गरी पुरानै कम्पनीलाई पुनःअनुमति दिएपछि निर्माण सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार