सगरमाथा र सरकार

विश्वलाई आकर्षित गर्ने र पर्यटकलाई पुगौंपुगौं लाग्ने नेपालीको सान हो सगरमाथा । यहि सगरमाथालाई टेकेर आफ्नो परिचयको दायरा फराकिलो र उचो बनाउनेहरुको संख्या वर्षेनी बढ्दो छ । कोहि सगरमाथामा छिटो आरोहण गरेर चिनिन र चिनाउन चाहन्छन, कोही विना अक्सिजन, कोही पटकपटक आरोहण गरेर त कोही युवा र बृद्धा अवस्थामा आरोहण गरेर ।

डायरीमा सगरमाथामा पाईला टेक्नेहरुहरुको नाम थपिंदो छ । तर जसले नाम दियो, उचाई, दियो, पैसा दियो अनि संसारमा चिनायो त्यहि सगरमाथालाई सबैले बिर्सियो । सगरमाथामा पुग्ने पर्यटकले पनि कहिले सोंचेनन् सगरमाथा फोहोर हुँदा हामी नै पहिलो भागीदार बन्छौ भनेर ।

आज सगरमाथामा फोहोर भन्ने खबर जताततै आइरहेको छ । सरकार भन्छ सगरमाथामा बाहिरी हल्ला जस्तो फोहोर भएको होइन र छैन । तर आरोही र सहयोगीहरु भन्छन् सगरमाथामा फोहोर बढ्दो छ । भाषणमा सगरमाथाको देश भन्ने सरकारको ध्यान सगरमाथातिर कहिल्यै गएको देखिन्न । आठहजारभन्दा धेरैले सफल आरोहण गरिसकेको सगरमाथामा कतिले भने ज्यान पनि गुमाएका छन् । तिनीहरुलाई सरकारले सायदै सम्झेको होला ।

मन्त्रिपरिषदको बैठक सगरमाथाको आधारशिविरमा बसिरहँदा पनि सरकारको ध्यान सगरमाथाको अवस्था र वस्तुस्थिती कस्तो छ भन्ने विषयमा गएन । न त त्यस बैठकमा सगरमाथाभित्रको पिडा र दुखलाई नै सरकारले कहिंकतै देख्यो । बर्षेनी यति सयले सगरमाथा आरोहण गरे, यति राजस्व उठ्यो भनेर विवरण दिंदै गर्व गर्ने सरकारको ध्यान आरोहण समूहले सगरमाथामा कति फोहोर गर्यो भन्ने विषयतिर जान सकेको छैन ।

सगरमाथा र पर्यटनका विषयमा भएका समस्या र चुनौतीबारे सरकार कहिल्यै गम्भिर नबनेको पर्यटन व्यवसायीको गुनासो छ । ‘हामीलाई छलफलका लागि बोलाउँछ तर जब हामी छलफलमा सहभागी भएर हाम्रा कुरा राख्न थाल्छौ त्यत्तिबेला न मन्त्री हुन्छन् हाम्रा कुरा सुन्ने न सचिव नै ।’ एक पर्यटन व्यवसायीले भने ।

आरोहणमा जाने हरेक दलमा आधार शिविरसम्म एकजना सूचना अधिकारी (लाइजन अफिसर) पठाउनुपर्दछ जुन कानुनमै उल्लेख छ । वर्षेनी चालिसवटाभन्दा बढी दल सगरमाथा आरोहणमा गइरहँदा सरकार एकजना लाइजन अफिसर पठाएका छौं भनेर सबैको आँखामा छारो हाल्ने काम गरिरहेको छ । । भएका र पठाइएकाहरुले मिलेमतोमा पैसा खाने तर बेस क्याम्पसम्म नजाने गरेको पर्यटन व्यवसायीले बताउँदै आएका छन् । जसकारण सगरमाथा क्षेत्रको वस्तुस्थितीबारे सूचना र जानकारी संकलनमा समेत अभाव खड्किएको छ ।

सधैं सगरमाथालाई टेक्नेहरुको चर्चा हुनु तर सगरमाथामा हुने प्रदुषण र बढ्दो फोहोरबारे गम्भिर नहुनु निन्दनीय पाटो हो । यो वर्ष पनि ६ सयले सगरमाथा आरोहण गरेको खबर आइरहँदा फोहोर कति बढ्यो या घट्यो सरकारसंग जानकारी नै छैन । आरोहणमा जाने दलले प्रति समूहले आठ केजी फोहोर ल्यायो ल्याएन सरकारले आजसम्म अनुगमन गर्न नसकिरहेको अवस्था छ । कुनै एउटा संस्थाले कागजमा लेखिदिएको फोहोर ल्यायो भन्ने प्रमाणका आधारमा सरकारले आरोहण दललाई धरौटी रकम फिर्ता गर्दै आएको छ ।

विश्वका दक्ष र अनुभवी अन्तर्राष्ट्रिय पर्वतीय पथप्रर्शकहरु नेपालमामात्र पाँच दर्जनभन्दा बढी छन् । तर सरकारले उनीहरुलाई देखेको छैन । नत सरकारसंग ती पथप्रदर्शकको विज्ञताबारे ज्ञान नै छ । जसकारण आजसम्म उनीहरुलाई सरकारले उपयोग गर्न सकेको छैन ।

सरकारले सगरमाथाका बारेमा मिठा शब्दमा जति गीत गाएपनि सगरमाथाको असली पिडा र भोगाईबारे अनुभव भएका ब्यक्तित्व तिनै आरोही, पर्वतीय पथप्रदर्शक र सहयोगीहरु नै हुन् । जसको सहयोग विना जो कोहीले सगरमाथामा पाईला टेकेर आफ्नो चिनारी फराकिलो बनाउन सकोस । जसको सहयोग विना निजामति कर्मचारीको आरोहण टोली होस या सगरमाथाको उचाई नाप्ने टोली सगरमाथालाई छुन सक्ने हिम्मत सायदै गर्लान् ।

वर्षेनी सैयौंलाई हिमाल आरोहण गराउने सहयोगीहरुसंग सरकारले आजसम्म सगरमाथाको वस्तुस्थितीबारे न छलफल गरेको देखिन्छ न त उनीहरुको उपयोग नै गर्न सकेको छ । देशमै भएका दक्ष ज्ञान र सिपका भण्डारलाई वेवास्ता गरिंदा आज सगरमाथाप्रति सरकारको विश्वसनीयता गुम्दो छ । सरकारले सगरमाथामा फोहोर छैन भनीरहँदा देशकै ईतिहास रच्ने आरोही र सहयोगीहरु सगरमाथामा यत्रतत्र फोहोर देखेरै आएको बताइरहेका छन् ।

सरकार आफैले नियमनकारी निकायको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न नसक्दा सगरमाथामा फोहोर बढेको आरोही र सहयोगीको आरोप छ । आरोहणमा जाने दलले फोहोर संकलन गरेर ल्यायो ल्याएन भन्ने सरकारले आजसम्म अनुगमन गर्न सकेको छैन । फोहोर ल्यायो ल्याएन भन्ने आजसम्म कागजमै सिमित छन् । फोहोर संकलन गर्नसक्ने ठाउँसम्म पुग्ने क्षमता सरकारसंग छैन । तर सरकारसंग अवसर भने नभएका होईनन् । आरोही र सहयोगीहरुलाई भरपुर उपयोग गर्न सरकार चुकिरहेको छ ।
नियमनकारी निकाय नै आर्थिक मिलेमतोमा लागेर मुकदर्शक बनिदिंदा सगरमाथाप्रति सरोकार राख्ने स्थानीय संघसंस्था र पर्यटकलाई प्याकेज सेल गर्ने कम्पनीहरुको पनि मनोमानी बढेको छ । आरोहणमा जाँदा मृत्यु हुनेको शब ल्याउने जिम्मा टे«किङ कम्पनीको भएपनि आजसम्म त्यस्ता शबहरुको रेस्क्यू हुन नसक्दा सगरमाथामा शबको संख्या बढेको हो । एकातिर पर्यटनमैंत्री कानुन बन्न सकेको छैन भने अर्कातिर सरकार आफै सगरमाथाको हरेक गतिविधीमा चुकिरहेको अवस्था छ ।

निजामतिले सगरमाथा आरोहण गरे । तर ति निजामति अहिले कहाँ छन् पत्तो छैन । तिनीहरु सगरमाथा आरोहण गर्दा त्यहाँ भएका फोहोरको थुप्रोहरुमा नजर त परेकै थियो होला तर अहिलेसम्म सगरमाथामा भएको फोहोरको विषयमा सरकारको कुनै कार्यक्रम र योजनाहरु आउन सकेनन् ।

सगरमाथा आरोहण गर्न चाहनेलाई सरकारको कुनै स्तरीय मापदण्ड छैन । जसले सगरमाथा आरोहण गर्न चाहन्छन् उसलाई रोयल्टी शुल्क बुझाएपछि अनुमति दिंदै आएको छ सरकारले । त्यसो हुनुले पनि सगरमाथामा ज्यान गुमाउनेको संख्या बढेको बताउँछन् आरोहीहरु ।

हिमाल आरोहण गराउने दक्ष जनशक्ति पनि प¥याप्त छैनन् नृपालमा । यस्तोमा नेपाल पर्वतारोहण संघ (एनएमए) लगायतले उत्पादन गर्ने पर्वतीय पथप्रदर्शकहरुको संख्यामा उल्लेख्य बृद्धि गर्न बेसिक र एड्भान्स तालिम सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जान जरुरी छ । यसो हुनसकेमा युवा जनशक्तिले रोजगारी पाउने, हिमालमा सुरक्षा पाउने, अनि देशले सकारात्मक शन्देस पाउनेमा दुईमत छैन ।

पहिलोपटक सरकारको अगुवाईमा निजी क्षेत्रसंगको साझेदारीमा सगरमाथा सफाई अभियान शुरु हुनु सकारात्मक पक्ष हो । यसलाई निरन्तरा दिन सधैं दाता खोज्नुभन्दा पर्यटक र टे«किङ कम्पनीलाई जिम्मेवार बनाउन उनीहरुबाट लिने धरौटी रकमको पाँच प्रतिशतसम्म रकम निरन्तर सफाई अभियानका लागि जम्मा गर्ने व्यवस्था गर्नसके सफाई अभियान प्रभावकारी बनाउन सकिने व्यवसायीहरुको भनाई छ ।

सगरमाथा सफा गर्न शुरु गर्यौं भन्नुसंगसंगै सफा कसरी राख्ने भन्ने कानुन्को कडाईका साथ कार्यान्वयन गर्न अपरिहार्य छ । हिमाल आरोहणबारे ज्ञान, सिप र क्षमतामा विशेषज्ञता हासिल गरेकाहरुलाई सारथी बनाएर अघि बढ । पर्यटन व्यवसायीसंग धेरैथोरै विज्ञता छ उनीहरुको सुझाव लिन पनि आवश्यक छ । नियमनकारी निकाय भएर अभिभावकत्वको भूमिका निर्वाह गर । भोलीको दिनमा सगरमाथाको फोहोर र शव भन्ने शब्द सबै पर्यटनप्रेमी, सबै सगरमाथाप्रेमीको मुखबाट एउटै आवाजमा निस्कियोस । सगरमाथा सफा राख्नु सबैको कर्तब्य हो । सगरमाथा सधैं सफा हुनेछ भन्ने शन्देस एउटै आवाजमा बुलन्द भए सगरमाथाप्रति सरकारको कदम सहि हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार